काठमाडौ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नेपालको बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने एटिएम सेवा अत्यधिक कमजोर रहेको बताएको छ।
सिआईबीका एसपी दीपक रेग्मीले बैंकिङ क्षेत्रमा एटिएम प्रणाली कमजोर रहेको बताए।
रेग्मीले नेपालको बैंकिङ क्षेत्रको एटिएममा ‘फिङगर प्रिन्ट’ को व्यवस्था नभएको, बुथमा सीसी क्यामरा सबै स्थानमा नभएको र भएका स्थानमा पनि केन्द्रीय प्रणालीले अनुगमन नगरेका कारण ह्याकरले सहजै रकम चोरी गर्न सक्ने बताए।
उनका अनुसार एकैपटक धेरै रकम झिके पनि अलार्मको व्यवस्था बैंकहरुले नगर्दा एटिएम सुरक्षित छैनन्।
एटिएम ह्याक : पाँच चिनियाँ नागरिक पक्राउ
विभिन्न बैंकको एटिएम बुथबाट एटिएमको पिन नम्बर ह्याक गरी रकम झिक्ने पाँचजना चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबीले) पक्राउ गरेको छ।
पाँचजना चिनियाँ नागरिकको बारेमा भने थप कुनै जानकारी नआएको ब्युरोका एसपी दीपक रेग्मीले बताए। शनिवार राती विभिन्न बैंकको एटीएम बुथबाट एटीएमको पिन चोरी गरी एक करोड २६ लाख नेपाली र १० हजार अमेरिकी डलर झिकिएको सिआईबीले जनाएको छ।
‘नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड’ (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेर विभिन्न बैंकहरुको एटिएम मेसिनबाट रकम झिकेका थिए।
यो प्रणालीमा १७ वटा बैंकहरु आबद्ध छन्। यसमा ११ बैंकको लगानी छ। यसले भिसा कार्ड, ‘युनियन पे कार्ड’ तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ र स्विचिङको सेवा दिँदै आएको छ।
बैंकको रकम एक्कासी असामान्य रुपमा झिकिएको जानकारी पाएपछि बैंकका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जानकारी पाउने वित्तिकै छानविन थालेको छ। नेपाल राष्ट्र बैंकले पनि छानविन थालिसकेको छ।
गभर्नरले भन्थे, बैंकिङ प्रणाली भगवान भरोसामा
राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले पटक पटक नेपालको बैकिङ क्षेत्र भगवान भरोसामा चलेको भन्दै आएका थिए।
विभिन्न कार्यक्रममा जाँदा नेपालको बैकिङ प्रणाली कमजोर रहेको र यसलाई सुधार गर्नुपर्ने भन्दै सर्वसाधरणको रकम रहेको बैंकिङ क्षेत्र सुरक्षित रुपमा नचलेको र भगवान् भरोसामा चलेको देख्दा अचम्म लागेको बताएका थिए।
उनले बैंकिङ क्षेत्रले आइटी क्षेत्रमा धेरै लगानी गर्नुपर्ने भएको भन्दै बैंक तथा वित्तीय संस्था मर्जरमा जान आवश्यक रहेको बताउँदै आएका थिए।
उनले आइटी क्षेत्रमा धेरै लगानी गर्नुपर्ने हुँदा अहिले भइरहेका बैंकले एकैपटक धेरै लगानी गर्न नसक्ने र विकल्पमा मर्ज हुनुपर्ने बताउदै आएका थिए। एटीएम ह्याक प्रकरणबाट बैंकहरुलाई मजर्रमा जानको लागि दवाव दिन राष्ट्र बैंकलाई थप सहज हुने भएको छ।
प्रभु र एआइसीको एटिएम खुल्न बाँकी
नेप्सले अहिले आफ्नो बैंकको एटिएम मेसिनबाट मात्र रकम झिक्न मिल्नेगरी १६ वटा बैंक तथा वित्तीय संस्थाहरुको एटिएम खुलाए पनि प्रभू बैंक र एनआइसी एसिया बैंकको एटिएम भने अझै खुलाइएको छैन।
प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट पैसा झिकिएको फेला परेको छ। यसमध्ये २ वटा बैंकको प्रणाली नै ह्याक गरिएको छ।
शनिवार रातीदेखि एटिएम मेसिन ह्याक गरेर रकम झिकिएको जानकारी पाएपछि एटीएम प्रोभाइडर संस्थाहरुले एटिएम मेसिन नै केही समयको लागि डाउन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४