काठमाडौं- नेपाल साफ यू-१५ फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिगको अन्तिम खेलमा भुटानलाई ६-० गोलले पराजित गर्दै नेपालले च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।
नेपालको जितमा प्रदिप लम्सालले दुई तथा निराजन खत्री, सुगम जिम्मी, असिम राई र क्रिस सापकोटाले एक एक गोल गरे । खेलको ५ औं मिनेटमा प्रदिपले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
त्यसपछि नवौं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । त्यस्तै ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

७५ औं मिनेटमा असिमले गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाए । ८५ औं मिनेटमा क्रिसले गोल गरेपछि नेपाल ५-० को फराकिलो अन्तरले अगाडि बढ्यो । त्यसपछि खेलको इन्जुरी समयमा सुगम जिम्मीले गोल गरेपछि नेपाल ६-० को जितसहित प्रतियोगिताको फाइनलका प्रवेश गरेको हो ।
अब उपाधिका लागि नेपालले भारतको सामना गर्ने छ । भारतले लिगको अन्तिम खेल आजै बंगलादेशसँग खेल्दैछ । अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ६ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४