काठमाडौं- प्रगतिशिल युवा नेपालले सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ भलिबल प्रतियोगिता गराउने जानकारी गरएको हो ।
सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी भर्खरै स्थापित भएको प्रगतिशल युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीमा नयाँ उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहेपनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ । जुन पुरुष भलिबलमा सर्वाधिक धनराशि हो । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार नगद हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । त्यस्तै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०-१० हजार नगद हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए ।
प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बिकास गुरुङले जानकारी गराए । एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछन् ।
प्रतियोगिताको अनुमानित खर्च करिव ३८ लाख ५० हजार रुपैया रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४