एजेन्सी- भारतको मध्यप्रदेशस्थित इन्दोरमा बस्दै आएका अलराउण्डर क्रिकेटर जलज सक्सेनाले भारतीय दुलीप ट्रफीमा एक खास रेकर्ड बनाएका छन्। केरलाबाट फस्र्ट क्लास क्रिकेट खेल्दै आएका ३२ वर्षीय जलज दिग्गजको इलिट क्लबमा समावेश भएका छन्।
हालसम्म उनले ११३ फस्र्ट क्लास क्रिकेट खेल खेलेका छन् । जसमा उनले ६ हजार रन बनाउँदा ३ सय भन्दा बढी विकेट लिएका छन्। यो खास रेकर्डसँगै जलज कपिल देव, सीके नायडु, लाला अमरनाथ, विजयी हजारे र पोली उमरीगर जस्ता दिग्गज खेलाडीको लिस्टमा अटाएका छन्। यि सबै खेलाडीले आफ्नो घरेलु क्रिकेटमा ६ हजार भन्दा बढी र ३ सय भन्दा बढी विकेट लिएका छन्।
तर, उनले हालसम्म भारतीय राष्ट्रिय क्रिकेट टोलीमा भने स्थान बनाउन सकेका छैनन्। भारतीय दिग्गजको यस लिस्टमा रहेका खेलाडी मध्ये राष्ट्रिय टोलीमा नपर्ने जलज एक्ला खेलाडी हुन्।

१४ वर्षको आफ्नो क्रिकेट करियरमा उनले सधैं आफ्नो ब्याट र बलबाट टोलीका लागि महत्वपूर्ण योगदान दिएका थिए। राष्ट्रिय टोलीमा नपर्नु आफ्नो कमजोरी नभएको उनी बताउँछन्। जलजले भने, ‘यो मेरो हातमा छैन्। यो काम छनोटकर्ताको हो। मेरो काम मात्र क्रिकेट खेल्ने र आफ्नो सर्वश्रेष्ठ दिने हो।’
जलजलाई गत सिजनको आइपिएलमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको थियो। तर, उनी पुरै सिजन प्लेइङ–११ मा पर्न सकेनन् । २०१७–१८ को घरेलु प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनको कदर गर्दै बिसिसिआईले दुई पटक अवार्डबाटसमेत सम्मानित गर्यो।
जलजले फस्र्ट क्लास क्रिकेटका दुई खेलमा शतक बनाउँदै ८ विकेटसमेत लिएका छन्। यस्तो प्रदर्शन गर्ने उनी भारत र विश्वका छैटौं खेलाडी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४