अगस्त २४ देखि धनाढ्य मुलुकहरुको 'क्लव' मानिने 'जी–सेभेन' समूहको शिखर बैठक सुचारु ढंगले चलिरहेको छ। फ्रान्सको बियारिचमा चलिरहेको उक्त बैठक विधिवत रुपमा साेमबार समापन हुँदैछ। चालु बैठकको अध्यक्षता आयोजक राष्ट्र फ्रान्सले गरिरहेको छ।
समकालिन विश्वका अल्पकालिन एवं दीर्घकालीन साझा सरोकारका बिषयहरुबारे छलफल र समीक्षा गर्न हरेक वर्ष 'जी–सेभेन' समूहको शिखर बैठक बस्ने गर्दछ। विश्वव्यापी सरोकारका साझा मुद्धा र चुनौती विविध प्रकारका असमानता विरुद्ध लक्षित रहेका छन्।
चालु बैठकको साझा सरोकार र मुद्धा फ्रान्स आफैंले तयार पारेको हो। बैठकलाई विभिन्न सत्रहरु विभाजन गरेर सहभागी मुलुकहरुका दुईपक्षीय तथा बहुपक्षीय मुद्दाहरुमा विमर्श गरिएको छ।
बैठकले समान अवसर, लैंगिक समानता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच आदि समस्याहरुको पक्षमा सुधार गर्दै 'क्लाइमेट फाइनान्स र लोकहितकारी पर्यावरणीय संक्रमण' अर्थात महासागर तथा जैविक विविधताको संरक्षणमा जोड दिएको छ। साथै सम्पूर्ण मानवजातिको साझा धर्तीको संरक्षणका लागि वातावरणीय असन्तुलन घटाउने कुरामा जोड दिइएको छ।
बैठकले समतामूलक व्यापार, कर र विकास नीतिको माध्यमबाट विश्वव्यापीकरणको सामाजिक आयामलाई बलियो बनाउनुको साथै सुरक्षा चुनौती तथा आतंकवाद विरुद्ध दिगो शान्तिका निम्ती निर्णायक कदम चाल्ने निर्णय गरेको छ। साथै डिजिटल प्रविधि र कृतिम बुद्धिमत्ताले उत्पन्न गरेका विषय र वस्तुस्थितिलाई समेत उपयोग गर्ने निर्णय गरेको छ।
आयोजक फ्रान्सले 'जी–सेभेन' समूहका मुलुक लगायत अन्य सरोकारवाला समुहसँग पनि छलफल गरेर रणनीतिक महत्वका विश्वव्यापी सरोकारलाई बैठकमा दौरान प्रश्तुत गर्नेछ। उल्लेखित सरोकारलाई सम्बोधन गर्न विभिन्न क्षेत्रगत समूहहरु समेत निर्माण गरिएको छ।
युवा सरोकारको लागि 'युथ–७', महिला सरोकारको लागि 'वमन–७', गैर-सरकारी संस्थाको लागि 'सी–७' आदि लगायत 'लेवर–७', 'विजिनेस–७', 'थिंक–ट्याङ्क–७', 'साइन्स–७' आदि क्षेत्रगत समुहहरु निर्माण गरिएका छन्।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका 'जी–सेभेन' समुहका सदस्य राष्ट्रहरु हुन्। साथै युरोपेली परिषद र संघले समेत पर्यवेक्षकको रुपमा संयुक्त प्रतिनिधित्व गर्ने प्रचलन छ। आगामी सन् २०२० को जनवरीदेखि संयुक्त राज्य अमेरिका यस समुहको अध्यक्ष हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४