काठमाडौं- भारतको कल्याणीमा जारी पाचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल विजयी भएको छ । कल्याणी रंगशालामा शुक्रबार भएको खेलमा नेपाल श्रीलंकामाथी २-० गोलले विजयी भएको हो ।
नेपालको जितका लागि शशांक बोहोरा र अशिम राईले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दुबै गोल दोस्रो हाफमा गरेको हो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै बोहराले गोल गर्दै नेपाललाई अग्रता दिलाए । उनले गोलपोस्टको क्रसरबारबाट फर्केर आएको बलमा उत्कृष्ट गोल गरेका हुन् ।
त्यस्तै खेलको ८३ औं मिनेटमा राईले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । उनले श्रीलंकाका दुई डिफेन्डरलाई विट गर्दै गोल गरेका हुन् । यस जितसँगै नेपालले आफ्नो उपाधि यात्रालाई जिवितै राखेको छ ।
पहिलो खेलमा भारतसँग ५-० को फराकिलो अन्तरले पराजित भएको नेपालले दुई खेलमा ३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४