एजेन्सी- रहिम स्टर्लिङले ह्याट्रिक गरेपछि साविकको विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । शनिबार साँझ भएको खेलमा सिटीले वेष्ट ह्यामलाई ५-० गोलले पराजित गरेको हो ।
वेष्ट ह्यामको घरेलु मैदानमा सिटीको जितका लागि स्टर्लिङको ह्याट्रिकसँगै ग्राबियल जिसस र सर्जियो अग्युरोले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
जिससको गोलबाट पहिलो हाफमा १-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा अझै आक्रमक खेल्दै थप चार गोल गर्यो । ५१ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
७५ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दा, ८६ औं मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम मिनेटमा स्टर्लिङले ह्याट्रिक पुरा गर्दै सिटीलाई ५-० को फराकिलो जित दिलाएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४