काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने सम्मिलित रहेको टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्ले अफमा पुगेको हो ।
टोरन्टोले दिएको १९० रनको लक्ष्य पछ्याएको मोन्टरियलले १९.३ ओभर सबै विकेट हुँदै १५४ रन मात्र बनाउन सक्यो । मोन्टरियलका लागि म्याथ्यु क्रसले सर्वाधिक ३९ रन जोड्दा दिनेश चण्डीमालले ३६ रन बनाए । त्यस्तै केली कोट्जरले १८ र निखिल दत्तले १२ रन जोड्नु बाहेक मोन्टरियलका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
टोरन्टोका लागि मिचेल मेग्क्लेनघन र कृष ग्रीनले तीन तीन तथा जेरोमी गार्डोनले २ विकेट र सन्दीपले १ विकेट लिए । सन्दीपले तीन ओभरमा २५ रन खर्चेर १ विकेट लिएका हुन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । टोरन्टोका लागि रोड्रिगो थोमसले ७० तथा हेन्रीच क्लासेनले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए । मोन्टरियलका थिसरा परेराले २ विकेट लिए ।
अब टोरन्टोले इलिमिनेटरमा अर्का नेपाली खेलाडी सोमपाल कामी रहेको वेनिपेग होक्ससँग खेल्नेछ । होक्स तालिकाको चौंथो स्थानमा रहेर प्ले अफ पुगेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४