काठमाडौं - जडीबुटी निकासी सहज बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेसका चार जना सांसदहरुले जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएका हुन्।
‘नेपालमा उत्पादित र संकलित सबै जडिवुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भइरहेको जडीबुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडीबुटी निकासीमा अवरोध उत्पन्न भएको हुँदा संकलित जडीबुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको छ।’ प्रस्तावमा उल्लेख गरिएको छ।
क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडीबुटी निकासीलाई सहज बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको उल्लेख छ।सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक सांसद रंगमती शाही छिन् भने समर्थकमा बालकृष्ण खाण, डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४