चितवन- माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत फेला परेका छन् ।
चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
कामको शिलशिलामा चितवन पुगेका उनी सोमबार दिउँसो साढे ३ बजेको हाराहारीमा होटल पुगेका थिए । होटलका कर्मचारीले साँझको खाना खान बोलाउन जादा उनी बसेको कोठा नम्बर २०२ नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।
राति १० बजे आएको प्रहरीले ढोका फोडेर हेर्दा उनी पंखामा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा आत्माहत्या नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।
यसअघि उनी न्यूज २४ को 'सिधा कुरा जनतासंग' कार्यक्रममा कार्यरत थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४