धनगढी - निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक अन्तरगत कैलालीको गेटामा भएको सवारी दुर्घटनामा परि घाइते भएकाहरु मध्ये एक जनाको मृत्यु भएको छ। अटो रिक्सा र जीप एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते भएका अटोमा सवार धनगढी उप–महानगरपालिका-१७ का ५६ वर्षीय चनकलाल डगौराको मृत्यु भएको हो।
उनको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार सोही दुर्घटनामा परि घाइते भएका अन्य दुई जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पतालले कोहलपुर रेफर गरेको छ भने अन्य तीन जना डिस्चार्ज भएका छन्।
मृतक डगौराकी श्रीमती अनिला डगौरा र सोही ठाउँकी रुपनीदेवी चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको उनले बताए। ६ लेन सडक खण्डको गेटामा से १ च ८२३ नम्बरको जीप र ना ३ स ५५६६ नम्बरको अटो रिक्सा एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। यस्तै अटो चालक दीपक धामी र जीप चालक तारासिंह साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४