धनगढी - सुदूरपश्चिमको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बाजुरा दर्शनका लागि बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ। बढीमालिका भगवतीको पूजाआजा गर्नका लागि डोटीबाट हरेक वर्षझैं यस वर्ष पनि एक सरकारी टोलीलाई पूजा सामग्रीसहित त्यसतर्फ प्रस्थान गरेको छ।
बाजुरास्थित बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुदर्शीका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पूजा सामग्रीका साथ पेटारा पठाउने गरिन्छ। सरकारी कर्मचारीको एक टोलिले नै उक्त पेटारो (पूजा सामग्रीको पोको) लैजाने प्रचलन छ। वर्षौंदेखि यो चलन चलिआएको हो। नेपाल एकीकरण पूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पूजा पठाउने गर्थे। यो चलन अहिलेसम्म कायम छ।
जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रिक विधि पूजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई विदाई गरिएको शैलेश्वरी मन्दिरका मूलपुजारी प्रेमशंकर भट्टले जानकारी दिए।
ठाउँ-ठाउँमा बास बसी १५ दिनपछि पेटारो बडीमालिका पुग्ने गर्दछ। भगवतीका सात बहिनीमध्येकी कान्छी बहिनी बडीमालिका भगवतीलाई मान्ने चलन छ। रथयात्रालाई जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासनको कार्यालय परिसरमा नेपाली सेना र नेपाल प्रहरीको एक टुकडीले सलामीसहित टोलीलाई बिदाइ गरेको हो।
सरकारी टोलीलाई गन्तव्यसम्म पुग्नका लागि अछाम, बाजुरा जिल्लाको सुरक्षा समितिसँग सहकार्य भएको र विशेष सुरक्षा व्यवस्था समेत मिलाइएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनका अनुसार सरकारी टोली भाद्र १ गते मालिकामा सम्पन्न हुने विशेष पूजामा सरिक हुनेछ। प्राकृतिक तथा धार्मिक महत्वको पर्यटकीय क्षेत्र बडीमालिकाको प्रचारप्रसार हुनसके यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४