काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे बिदा गरेर पठाइदिने बताएका छन्।
मन्त्री पण्डितले कर्मचारीले तोकिएको काम बाहेक अनावश्यक अतिरिक्त समय बिताए त्यसको परिणाम भोग्नुपर्ने बताए। 'कर्मचारी जसलाई जे जिम्मेवारी दिइएको हो। त्यही काममा लाग्नुहोस्', मन्त्री पण्डितले भने, 'तोकिएको कामबाहेक अरु गरे त्यसको मूल्य चुकाउनुपर्ने छ।'
मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले सरकारले तोकेको काम पूरा नगर्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै उनले त्यस्ता कर्मचारीलाई बिदा गरेरै पठाइने बताए।
मन्त्री पण्डितले अपुग कर्मचारी यसै आर्थिक वर्षमा पुरा गरिने बताए। उनले प्रदेश र स्थानीय तहमा कर्मचारीको पद, श्रेणीमा देखिएको समस्या तथा असमान तलबलाई एक साताभित्र सुल्झाउने दाबी गरे।
मन्त्री पण्डितले गत आवमा व्यवस्थापनका काम बढी गर्नु परेकाले विकास निर्माणका काम कम भएको स्वीकार गरे। चालु आवमा सेवा प्रवाह र विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने उल्लेख गदैै उनले कामको प्रगतिमा कुनै प्रश्नचिन्ह खडा नहुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४