काठमाडौं - सर्वोच्च अदालतले सनम शाक्य हत्या एवं ३३ किलो सुन प्रकरणमा मुछिएका महावीर गोल्यानबाहेक सबैको हकमा उच्च अदालत बिराटनगरकै फैसला सदर गरेको छ।
न्यायाधीश अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार फैसला सुनाउँदै गोल्यानलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। लामो सुनुवाइ पछि सर्वोच्चको आदेश आएको हो।
जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामा लामो बहसपछि जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेका आरोपितविरुद्ध सर्वोच्चको यस्तो आदेश आएको हो। सुन र हत्या प्रकरणमा जोडिएका २९ जनाले जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरको निर्णय विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।
फैसलासँगै निलम्बित डिएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, महाविर प्रसाद गोल्याल, तुलाराम थारु, रामकुमार तिवारी, पूर्वडिआइजी गोविन्द प्रसाद निरौला, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिडलगायत अन्य २८ जना थुनामै रहने भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४