काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताएका छन्। प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले बाढी पीडितहरुलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको बताए। “बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योजना बनाउँदैछ”, ओलीले भने, “वर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ । ”
केही समय भित्रै बाढीले क्षती पुर्याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले सांसदलाई बताए। “केही समयपछि म बाढीको क्षतीको अवलोकन र राहतको केही कार्यक्रमसहित प्रदेश नं २ मा आउँछु”, ओलीले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४