काठमाडौं - विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ एक महिना मनाउने गुँलापर्व आजदेखि सुरु भएको छ। यो पर्व नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछन्। यो पर्वको अवसरमा यस वर्ष मध्यपुरथिमिमा दुर्लभ मानिने न्याकुबाजा प्रयोगमा ल्याइएको छ।
विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट तयार गरिने यो बाजा थिमिमा करिब दुई दशकपछि प्रयोगमा ल्याएको हो। यसका साथै यस वर्ष चतीबाजा (भेँडाको सिङबाट बनेको बाजा)समेत प्रयोगमा ल्याइने सञ्चारकर्मीसमेत रहेका मध्यपुरथिमिका स्थानीयवासी केके मानन्धरले बताए।
“यस वर्षको गुँलापर्वमा चती, न्याकुलगायतका मौलिक बाजासहित धाःबाजा, भुस्याः, धिमेलगायतका बाजागाजाका साथ गुँलापर्व मनाउने तयारी छ”, उनले भने। मध्यपुरथिमिमा गुँलापर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ। साथै काभ्रेको नमोबुद्ध, काठमाडौँस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँलापर्व मनाउने प्रचलनमा वृद्धि भएको छ। धाःबाजा, बाँसुरी, धिमेबाजा, भुस्याबाजा बजाएर पनि चैत्यहरूका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायतका देवी–देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ। साथै बौद्ध धर्मावलम्बीबाहेकका समुदायसमेत गुँलापर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन्।
यस वर्ष गुँलापर्वको अवसरमा मध्यपुरथिमिमा वाचुनानीबाट गुँलाबाजा निकालिने भएको छ। मध्यपुरथिमि–५ स्थित वाचुनानीका स्थानीयवासीले मध्यपुर गुँलाबाजा व्यवस्थापन समिति गठन गरी गुँलाबाजा निकालेको हो।
समितिका अनुसार यस वर्ष साउन २० गते नागपञ्चमीको दिन चाँगुनारायण, साउन ३० गते जनै पूर्णिमाको दिन ललितपुर कुम्भेश्वर, कृष्ण मन्दिर र बालकुमारी मन्दिर, साउन ३१ गते शुक्रबार गाईजात्राको दिन मध्यपुरथिमि नगरपरिक्रमा, भदौ ६ गते कृष्णाष्टमीको दिन काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाँकाल, भदौ ११ गते जुह्रेचह्रेको दिन सूर्यविनायक गणेश मन्दिर र भक्तपुर नगरपरिक्रमा, भदौ १४ गते बुङ्गमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरिनेछ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४