जनकपुरधाम – हतियार प्रहार गरी महोत्तरीमा एक युवकको हत्या भएको छ। भारतीय सीमासँगै रहेको मनरा सिस्वा नगरपालिका–२ इटहर्वामा हत्या गरेर फ्याकिएको अवस्थामा युवकको शव फेला परेको हो।
नेपाल–भारत सीमा नजिकै उखुबारीमा बेबारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। शंकास्पद अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताएका छन्। दशगजा नजिकै फेला परेको शव भारतीयको हुनसक्ने अधिकारीको भनाइ छ।
भारततर्फ हत्या गरेर युवकको शव नेपाली सीमामा फ्याकिएको हुनसक्ने प्रहरीको अनुमान छ। निधारमा धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको अधिकारीले बताए। प्रहरीको एकटोली मृतकको विषयमा पत्ता लगाउन भारततर्फ गएको उनले जानकारी दिए।
यसैगरी जलेश्वर नगरपालिका–६ स्थित रातु खोलामा समेत एकजनाको शव फेला परेको छ। स्थानीय सरोज साहको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ। साहको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान रहेपनि पोस्टमार्टमपछि यथेष्ट जानकारी आउने एसपी अधिकारीले बताए।
दुबै शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४