बुधबार, साउन २७, २०८३

प्रदेश १ का ६ लेन सडक : सहरैपिच्छे फरकफरक चौडाइ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- सात मिटर चौडाइको विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्मको सडकलाई ३० मिटर चौडा पार्ने गरी २०६९/७० मा ६ लेन सडक परियोजना सुरु भयो ।
 
६ लेन सडकको पहिलो सम्झौता विराटनगरको बगरगाछीदेखि एयरपोर्ट गेट अनि एयरपोर्ट गेटदेखि डिडिसीसम्म ठेकेदारहरुसँग २०७० असार २७ गते सम्झौता भयो ।

विभिन्न १४ खण्डमा विभाजन गरेर निर्माण भइरहेको परियोजनाको अन्तिम सम्झौता २०७४ पुसा २५ गते मोरङको बाँसबारी– निबुवा खण्डको भएर काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । 

गच्छदारको गृहनगरमा साँघुरो सडक

दस अर्ब बढीको संशोधित लागत अनुमान गरिएको राष्ट्रिय राजमार्गको चौडाइमा भने एकरुपता छैन । बेलायतको सहयोगमा २०१६ सालमा बनेको रानी–धरान सडकको चौडाइ विश्व बैंकको लागतमा ३० मिटर (१०० फिट) हुने उल्लेख छ ।

उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गतको इटहरीस्थित रानी–विराटनगर–इटहरी– धरान सडक योजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी गौतम देवले कानुनी अड्चनले सडकमा एक रुपको नहुने बताए ।
 
विभिन्न चलखेल भएपछि सडकले ३० मिटर चौडाइको एकरुपता नपाउने भएको छ । सबैभन्दा साँघुरो दुहबी बजारमा १६.३ मिटर चौडाइ हुनेछ ।  

दुहबी बजारको ६ सय ४० मिटर खण्डमा ८.१५ मिटरको दरले सेन्टर लाइनबाट दुईतर्फी हुनेछ । २०५४ चैत ३ गते राजपत्रमै सूचना प्रकाशन गरेर सडकको चौडाइ घटाइएको थियो ।

दुहबी बजारको प्रभावमा परेर पूर्व उपप्रधानमन्त्री तथा सोही क्षेत्रमा चुनाव लढ्दै आएका विजयकुमार गच्छदारले राजपत्रमा सडकको चौडाइ घटाएको जानकारहरुको भनाइ छ ।


 
धरानमा बजार भत्काउने कि बाइपास भन्ने विवाद

धरानको गेटवेको तीनकुनेसम्म सहज पुग्ने ६ लेन सडक तीनकुनेबाट बजार हुँदै लाने कि सेउती किनार हुँदै बाइपास गर्ने भन्ने विवाद भएको छ ।

७ मिटर चौडाइको सडकमै टासिएर थुप्रै घर बनेका छन् । यी घर ६ लेन सडकको मापदण्डअनुसार भत्किन्छन् । घर नभत्काउन घरधनीले बाइपास सडकका पक्षमा लबिङ गरेका छन् ।
 
सेउती किनारबाट बाइपास सडक बने सुकुम्बासीहरु विस्थापित हुने भन्दै नेकपा नेता आइन्द्रविक्रम बेघासहित स्थानीय नेता विरोधमा छन् ।

धरानमा सबैभन्दा पहिला बाइपास सडकको कुरा उठाउने हाइप्रोफाइल व्याक्ति प्रधानमन्त्री केपी शर्मा ओली हुन् । २०७३ वैशाख १७ गते धरानमा चुनावी भाषण गर्न आएका ओलीले बाइपास निर्माण गर्ने बताएका थिए । 

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलगायत धेरै सरोकारवालाले भने बाइपास सडकले धरानलाई मृत सहर बनाउन सक्ने तर्क गर्दै आएका छन् । 


विराटनगरमा ३० मिटर, इटहरीमा ५० मिटर चौडाको सडक बन्ने

विराटनगरको सडक भने ३० मिटरकै हुनेछ । २०४८ वैशाख १३ गते  राजपत्रमा प्रकाशित सूचनाअनुसार विराटनगरको सडक सेन्टर लाइनबाट १५ मिटर दुवैतर्फ फैलिने इन्जिनियर गौतम देव बताउँछन् ।
 
इटहरीमा राजमार्गको आवश्यक सडकको मध्यलाइनबाट दुवैतिर २५/२५ मिटर कायम हुनेगरी सडक बन्ने देवले बताए ।

देवका अनुसार रानी–धरान ६ लेनको ४९ किलोमिटर क्षेत्रमा हाल ३२.६४ किलोमिटरमा काम भइरहेको छ । दुहबीको बूढी खोला पुलबाहेक विभिन्न चौध खण्ड बनाएर हाल सडक निर्माण भइरहेको र इटहरीदेखि तरहरासम्म दुई खण्डमा काम भइरहेको देवले बताए ।
 
इटहरीदेखि आँपगाछी यातायात कार्यालयसम्म र यातायात कार्यालयदेखि तरहरासम्म दुई खण्डमा काम भए पनि एकैनासले काम भइरहेको देवले बताए ।

उनले भने, ‘इटहरीदेखि तरहरासम्म ५० मिटर चौडा सडक बन्छ । यसमा सडकको पिच भएको क्षेत्र ३३.२० मिटर हुन्छ । यो भनेको १०९ फिट हो ।’ १०९  फिट त सडकको पिच भएको क्षेत्र हुने भन्दै इन्जिनियर देवले यसबाहेक ३ मिटरको हरियाली क्षेत्र २ मिटरको ढल क्षेत्र हुने बताए ।

यसबाहेक रिटेनिङ वालको थप क्षेत्र पनि सडकमा एकै नासले अटाइने उनले बताए । 

सार्वजनिक सडक ऐन २०३१ ले सडकको मध्यभागदेखि दायाँबायाँ ३१ मिटर सडको क्षेत्र तोकेको र राजपत्रमा प्रकाशित गरेकाले इटहरीदेखि तरहरा २५/२५ मिटर मध्यभागबाट सडक विस्तारमा कुनै समस्या नहुने देवले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।