काठमाडौं- नेपाल राष्ट्र बैंकले क्रश होल्डिङ (दुइ वा दुई भन्दा बढी बैंककोे सेयर लिएर बसेका) सेयरधनीको सम्पुर्ण विवरण पठाउन भन्दै विहिबार बैंक तथा वित्तिय संस्थाको नाममा पत्र काटेको छ।
राष्ट्र बैंकले शुन्य दशमलब एक प्रतिशत भन्दा माथि सेयर स्वामित्व भएका सेयरधनीको विवरण सात दिनभित्र नेपाल राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको हो।
क्रस होल्डिङ भएका बैंकहरुबाट नै विग मर्जर अगाडि बढाउने सोचका साथ केन्द्रीय बैंकले सो निर्देशन दिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ र आर्थिक पत्रकार समाजले संयुक्त रुपमा आयोजना गरेको मौद्रिक नीतिको असर र आगामी दिनमा चाल्नुपर्ने कदम विषयक ‘इको टक’कार्यक्रममा बोल्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एकाघरको परिवारको समेत सेयर संख्या जोडेर विवरण पठाउन निर्देशन दिइएको बताए।
उनले भने,‘ राष्ट्र बैंक विग मर्जरको विषयबाट पछि हटेको छैन, तर पहिला स्वेच्छिक होस् भन्ने मात्र चाहेका हौँ यदि भएन भने फेरि फोर्सफुल मर्जर नीति नै अपनाएर जाने हो।
क्रस होल्डिङको विवरण प्राप्त भैसकेपछि कति प्रतिशत सेयर धारण गरेका सेयरधनीहरुलाई लक्षित गरी अनिवार्य मर्जरमा पठाउने भन्ने कुरा तय गरिने पनि उनले जानकारी दिए।
शिवाकोटीले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र बिक्री गर्ने बैंकहरु पनि अनिवार्य रुपमा मर्जरमा जानैपर्ने नीति अख्तियार गरिएको जनाए।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले निश्चित प्रतिशत क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरमा लैजान बढी प्राथमिकता दिने भन्दै स्वतःस्फुर्त मर्जका लागि विशेष सुविधा दिएर प्रोत्साहित गरेको छ।
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले उद्योग व्यवसायमा सकारात्मक प्रभाव नदेखिने दावी गरे ।
उनले घरेलु उद्योगीले ऋण पाउनै मुकिल हुनु र व्यक्तिगत ग्याारेन्टीमा पाइएको ऋणमा पनि महंगो ब्याज तिर्नुपर्दा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने कम सम्भावना रहेको उनको ठम्याई छ ।
मौद्रिक नीतिले यो विषयलाई सम्बोधन गरेको भए उद्योगीलाई केही सहज हुने थियो।
अहिले बैंकहरुसँग पर्याप्त तरलता भएपनि बैंकहरुबाट ऋण पाउन नसकिरहेको उनको गुनासो छ ।
अहिलको रहेको मुख्य चुनौति सर्वसुलभ तवरबाट कुनै पनि परियोजनाका लागि ऋण नपाउनु र ब्याजदर रहेको बताउँदै गोल्छाले मौद्रिक नीति यस विषयमा सम्बोधन गर्न चुकेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४