काठमाडौं - प्रतिनिधिसभा बैठक खुलाउने विषयमा भएको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ। प्रतिपक्षी र सत्ता पक्षका नेताहरु आ–आफ्नै अडानमा रहेपछि छलफल विना निष्कर्ष सकिएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार अपराह्न भएको छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले सर्लाही घटना छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राखेका थिए।
पछिल्लो मधेश–थरुहट आन्दोलनमा भएका ज्यादतीबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उनीहरूको थियो।
तर, सत्ता पक्षका नेताहरुले सर्लाही घटना समान्य भएकाले सरकार आफैंले छानविन गर्ने अडान दोहर्याएका थिए।
सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र सडक अवरुद्ध गर्ने क्रममा सरोज नारायणसिंह प्रहरीको गोलीबाट मारिएका थिए।
दुवै घटना छानबिनका लागि संसदीय समिति माग गर्दै कांग्रेस–राजपाले संसद अवरुद्ध गर्दै आएका छन्।
कांग्रेस सचेतक पुष्पा भुसालले नेपाल समयसँग भनिन्, ‘सर्वदलीय छलफलमा हामीले आफ्नो पक्षमा कुरा राख्यौं। सत्तापक्षले पनि आफ्नो कुरा राखेको छ। थप छलफल गर्ने कुरा भएको छ।’
उनका अनुसार सोमबार बस्ने प्रतिनिधिसभाको बैठकअघिसम्म दुवै पक्षका शीर्ष नेताबीच छलफल हुनेछ।
यो पनि-