काठमाडौं- बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर ४ दिनका लागि स्थगित गरिएको छ।
बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले नाराबाजी गरी संसद बैठक अबरुद्ध गरेका थिए।
त्यसअघि पनि पटकपटक संसद अबरुद्ध गरेका दलहरुसँग सभामुख कृष्णबहादुर महराले छलफल गरी बैठक सूचारु गर्ने प्रयास गरे पनि बिहीबार कुरा नमिल्दा बैठक २० गतेसम्मका लागि स्थगित भएको हो।
बिहीबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सभामुख महराले कांग्रेस र राजपालाई बैठक सूचारु गर्न दिन आग्रह गरेका थिए।
कांग्रेस र राजपाले सर्लाही घटनाबारे संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने भएपछि संसद सचिवालयले बैठक नै ४ दिन पर सारेर सूचना टाँस गरेको छ।
संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईद्वारा जारी सूचनामा अबरुद्ध सदन सूचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्न नसक्ने हुँदा स्थगित गरिएको उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४