काठमाडाैं- नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई मन्त्री नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका भट्टराईको सपथ अपराह्न ४ बजेका लागि तय गरिएको छ।
गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो मन्त्रालय मन्त्रीबिहीन बनेको थियो।
अधिकारीको ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा पर्दा सबै ६ जनाको मृत्यु भएको थियो।
मन्त्री योगेश भट्टराईको छोटो चिनारी
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो।
उनका बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो।
भट्राईले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्।
आफ्नो विद्यार्थी जीवनमा झापा विद्रोह देखेका भट्टराईलाई आफ्नो गृह जिल्लामा पनि कम्युनिष्ट गतिविधि देख्दा वामपन्थी राजनाीतिमा झुकाव बढेको थियो।
भट्टराईले २०३७ सालमा अनेरास्ववियुको राजनीति थालेका हुन्। बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरे।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिए। २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए।
त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य र सचिवसम्म बने। हाल उनी नेकपाको स्थायी समिति सदस्य छन्।
नेता भट्टराई २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बने पनि पराजित भएका थिए।
गत प्रतिनिधिसभा निर्वाचनमा गृहजिल्ला ताप्लेजुङबाटै निर्वाचन जितेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४