बिहीबार, वैशाख ३, २०८३

भलिबलकी अरुणाः पिप्लेबाट अन्तर्राष्ट्रिय खेलसम्म 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
'तिमीले अब स्कुल छोड्नुपर्छ', ९ कक्षामा पढ्दै गरेकी अरुणा शाहीलाई शिक्षकले यसो भन्दा सपनाजस्तै लाग्यो । १ देखि नै पढेको स्कुल विना कुनै गल्ती किन छोड्न भनिंदैछ उनले ठम्याउनै सकिनन् ।

म्याग्दीको पिप्लेस्थित मुक्तिधाम माविमा कक्षा ९ मा पढ्दै गर्दा शिक्षकले अरुणालाई स्कुल छोड्न आग्रह गरेका थिए । घरपरिवारमाथि पनि मुक्तिधाममा नपढाउन प्रस्ताव आयो । तर, न परिवार सहमत भयो न त अरुणा नै ।
 
उनले स्कुलस्तरीय भलिबल प्रतियोगिता खेलिसकेकी थिइन् । रमाइलोका लागि साथीसँग भलिबल खेल्ने गरेकी अरुणाले कक्षा ९ मा पढ्दा तत्कालीन वीरेन्द्र रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाइन् ।

अलीअली खेल्न जाने पनि राम्ररी नियम नबुझ्दै उनलाई स्कुलले भलिबल टोलीमा सहभागी गराएको थियो । कारण थियो, अरुणाको उचाइँ । अग्लो शरीर भएका कारण उनको स्पाइक राम्रो थियो । यद्यपि, जीवनकै पहिलो औपचारिक प्रतियोगितामा उनको टोलीले जित्न सकेन ।
 
प्रतियोगितामा पराजित भएको केही दिनपछि नै उनलाई शिक्षकले 'अब तिमी पोखराको स्कुलमा पढ्न जानुपर्छ' भनेका थिए । वीरेन्द्र रनिङ शिल्डमा राम्रो प्रदर्शन गरेपछि उनलाई पोखराको ज्ञानुबाबा बोर्डिङ स्कुलले त्यहीँ भर्ना भएर शिक्षा र खेलकुद दुबैलाई अगाडि बढाउन प्रस्ताव गरेको थियो ।
 
नियम नजान्दै विद्यालय स्तरको भलिबल प्रतियोगितामा सहभागी गराइएकी अरुणा शाही त्यसपछि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन् । 

अरुणा जान नचाहेको कारण भने एक त घर नजिकको स्कुल छोड्न गाह्रो थियो अर्को चाहिँ नयाँ स्कुलले उनलाई फेरि ८ कक्षामै भर्ना लिने भनेको थियो ।
 
'त्यति बेला रमाइलोका लागि भलिबल खेलेकी थिएँ तर, आज त्यो रमाइलो मेरो जीवन बनेको छ,' अरुणा भन्छिन् । आफूलाई पढाइरहेका शिक्षकले समेत नयाँ स्कुलमा जान आग्रह गरेपछि उनी अन्ततः अभिभावकको सहमतिमा पोखरा पुगिन् । पोखराको ज्ञानुबाबामा उनलाई कौशिला खत्रीले प्रशिक्षण दिन्थिन् ।
 
वीरेन्द्र शिल्डमा अरुणाको खेल प्रशिक्षक खत्रीले राम्रैसँग नियालेकी रहिछन् ।  अरुणाको प्रदर्शन र अग्लो शरीर देख्दा खत्रीलाई अरुणाले भविष्यमा राम्रो गर्छिन् भन्ने लाग्यो र उनैले मुक्तिधाम माविका शिक्षकसँग अरुणालाई पोखरा पठाइदिन आग्रह गरेकी थिइन् । 

खत्रीकै पहलमा  ज्ञानुबाबा स्कुलले अरुणालाई छात्रवृत्ति दिने भएको थियो ।



फर्केर जान मन थिएन

खत्रीसँगको दुईतीन महिनाको प्रशिक्षणपछि अरुणाले क्षेत्रीय भलिबल प्रतियोगिता खेल्ने मौका पाइन् । क्षेत्रीय प्रतियोगितामा स्पाइकरको भूमिकामा रहेकी उनले उपाधि जिताइन् र प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् ।

तीनचार महिनाको पोखरा बसाइपछि घर पुगेकी अरुणा लामो समयसम्म फर्किनन् । उनलाई फर्काउन प्रशिक्षक खत्रीले फेरि पूर्व शिक्षकहरुकै  सहारा लिइन् । पोखरा नफर्केको भए ? उनीसँग उत्तर छैन । 'खै के हुन्थ्यो, सोचेकै छैन,' अरुणा भन्छिन् ।

ढिलो डेब्यू 

जिल्लादेखि क्षेत्रीयस्तरका प्रतियोगितामा उत्कृष्ट खेलाडी बने पनि नियमित प्रशिक्षण लिएको चार वर्षसम्म अरुणाले राष्ट्रिय टोलीमा डेब्यू गर्न पाइनन्।  सन् २०१४ मा नेपालमा आयोजना भएको मालदिभ्ससँगको मैत्रीपूर्ण खेलबाट मात्र उनले राष्ट्रिय टोलीमा सहभागी हुने मौका पाइन् ।
 
जनवरी २०१० मा ढाकामा आयोजित ११ औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली महिला भलिबल टोली कुनै पनि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी भएको थिएन । त्यसैले अरुणाको राष्ट्रिय टोलीमा डेब्यू ढिलो गरी भयो ।
 
'त्यसबेला अहिले जस्तो धेरै प्रतियोगिता हुँदैनथ्यो । देशभित्रै पनि वर्षमा दुई तीनवटा प्रतियोगिता हुन्थे,' अरुणा भन्छिन– 'बरु फुर्सदका बेला म बास्केटबल पनि खेल्थें ।' 

मालदिभ्ससँगको खेलमा नेपालले रातो र नीलो गरी दुई टिमलाई प्रतिस्पर्धा गराएको थियो । अरुणाले रातो टोलीबाट पहिलो रोजाइको खेलाडी बन्दै मालदिभ्सविरुद्ध खेलेकी थिइन् । त्यसपछि उनले नेपाली महिला भलिबल क्षेत्रमा पछाडि फर्कनु परेन ।



सन् २०१४ मै नेपालमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रित भलिबल प्रतियोगितामा नेपाल दोस्रो हुँदा उनको महत्त्वपूर्ण योगदान थियो । प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पारजित भएको थियो ।
 
त्यसपछि सन् २०१६ मा उनले भारतसँग मैत्रीपूर्ण खेलको अवसर पाइन्  । २०१६ मै भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल उपविजेता बन्यो ।

उनले देशबाहिर तीनपटक फ्रेन्चाइज भलिबल लिग खेलेकी छन् । पहिलोपटक सन् २०१६ मा हङकङमा नवौं स्याङ्जा कप भलिबल खेलिन् ।

त्यस्तै सोही वर्ष मालदिभ्सको राष्ट्रिय लिग 'अल मुधिस महिला राष्ट्रिय भलिबल लिग' खेल्दा उनी प्रतियोगिताकै मोस्ट भ्यालुएबल खेलाडी घोषित भइन् । उनले सन् २०१८ मा पुनः दोस्रो पटक हङकङमा फ्रेन्चाइज भलिबल लिग खेलेकी थिइन् ।

छैटौं राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेकी उनले थुप्रै घरेलु प्रतियोगितासमेत खेलेकी छन् । दोस्रो संस्करणको ढोरपाटन भलिबल प्रतियोगितामा ज्ञानुबाबाले लगातार पाँचाैं पटक उपाधि जित्दा उनी टोलीको मुख्य खेलाडी थिइन् ।


 
गत वर्ष आयोजित आदी अवादी भलिबल प्रतियोगितामा उनले चितवन टाइगर्सबाट खेल्दा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् ।
 
नेपाली महिला राष्ट्रिय भलिबल टोली अहिले कप्तानविहीन छ । सिनियर र खेलका आधारमा नेपाल भलिबल संघले केही समयपछि कप्तानको जिम्मेवारी कुनै एक खेलाडीको हातमा सुम्पनेछ । त्यसका लागि अरुणा बलियो दाबेदार हुन् ।

सुरुदेखि स्पाइकरको भूमिकामा खेल्दै आएकी अरुणाले पछिल्लो एक वर्षयता काँधमा चोट लागेका कारण पोजिसन परिवर्तन गरेकी छन् । उनी भन्छिन्, 'म अब राष्ट्रिय टोलीमा अलराउन्डर र सेटरमा देखिनेछु । तर, क्लब र घरेलु प्रतियोगितामा भने स्पाइकरको भूमिकामा पनि देखिन सक्छु ।' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।