काठमाडौं- स्थानीय तहहरुका लागि लोक सेवाले जारी गरेको विज्ञापनविरुद्ध सांसदहरुको हस्ताक्षर सुरु गरेका छन्।
लोक सेवाको विज्ञापन संविधानको मर्म विपरित र असमावेशी भएको भन्दै सांसदहरुको हस्ताक्षर संकलन गरेका हुन् ।
मधेशी, आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न संस्थाहरुको पहलमा संयुक्त रुपमा हस्ताक्षर संकलन भइरहेको छ।
तराई मधेश राष्ट्रिय परिषद्का सदस्य कासिन्द्र यादवका अनुसार हालसम्म कांग्रेस, समाजवादी पार्टी र राजपालगायतका दलका सांसदहरुसँग हस्ताक्षर संकलन गरिएको छ।
नेपाली कांग्रेसका तर्फबाट डा.अमरेश सिंह, तेजुलाल चौधरीलगायतका सांसदहरुले हस्ताक्षर गरेका छन् । समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठ तथा प्रमुख सचेतक उमाशंकर अरगडिया लगायतले हस्ताक्षर गरेका छन्।
तर अध्यक्ष डा.बाबुराम भट्टराईले आफू सिंगाे पार्टीकै अध्यक्ष भएकाे हैसियतले पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने विश्वास दिलाएका छन् ।
लोक सेवा आयोगले स्थानीय निकायका लागि जारी गरेको विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको थियो। तर, सरकारले संसदीय समितिको निर्देशन पालना गरेको थिएन।
लगतै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनवाईमा विज्ञापनमा दरखास्त दिइसकेकाहरुको भविष्यको चिन्ता गर्दै विज्ञापनलाई सदर गरेको थियो।
जसको विरोधमा विभिन्न संगठनले प्रदर्शन गर्दै आएको छ। समान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजातिको कार्यक्रमबाट लखेटिएको थियो भने आइतबार साँझ काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरिएको थियो।
उक्त समूहले सोमबार साँझ पनि काठमाडौंमा प्रदर्शनको तयारी गरेको समूहका अगुवा एवं पूर्व सांसद सुरेश आले मगरले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४