काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्ट पारे। सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिए।
उनले सञ्चार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति छ।
मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए। उनले सञ्चार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४