धनगढी- चिकित्सकमाथि गालीगलौज र हातपातको प्रयास गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन उपक्षेत्रीय अस्पताल डडेलधुराका चिकित्सकले प्रशासन समक्ष २४ घण्टे अल्टिमेटम दिएका छन्।
असुरक्षाको कारण देखाउदै अस्पताल छोडेर धनगढी आएका चिकित्सकहरुले प्रशासनले दोषीलाई २४ घण्टाभित्र कानुनी कारवाहीको प्रक्रियामा नल्याए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने अल्टिमेटम दिएका हुन्।
आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल चिकित्सक संघ सुदूरपश्चिम समितिले चिकित्सकलाई काम गर्ने वातावरण तत्काल बनाउन प्रशासनलाई माग गरेको छ।
स्थानीय एक जनाको पोष्टमाटम गर्ने क्रममा वडाध्यक्ष नेतृत्वको समूहले चिकित्सक माथि आक्रमण गरेपछि असुरक्षाको कारण देखाउदै १० जना डाक्टर धनगढी आएका छन्।
चिकित्सकलाई गालीगलौज र हातपातको प्रयास गर्ने माथि कारबाही नभए काम मा नफर्किने डाक्टर नवराज जोशीले बताए।
शव परीक्षणमा ढिलाइ गरेको भन्दै अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा गएको समूहले अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको जनाइएको छ।
आक्रमणपछि अस्पतालका चिकित्सकले कामकाज बन्द गरेका छन्।
यसअघि पनि सुत्केरीको मृत्युको विषयलाई लिएर डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो।
अस्पतालमा तोडफोड समेत गरिएको थियो। त्यसपछि चिकित्सकहरूले कामकाज बन्द गरेका थिए। जिल्ला प्रशासन कार्यालयले सुरक्षाको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि कामका फर्किएका थिए। तर, बुधबार फेरि चिकित्सकमाथि आक्रमण गरिएको छ।
वडाध्यक्ष प्रकाशको नेतृत्वमा रहेको समूहले ड्यूटीमा रहेका चिकित्सकमाथि आक्रमण गरेको जनाएका छन्।
सुरक्षाका कारण नियमित सेवा दिन नसक्ने जनाउँदै उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी समेत गराएका छन्। चिकित्सक धनगढी आएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएका छन्।
अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि प्रहरीले अस्पताल पुर्याएको थियो। चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष प्रकाशको नेतृत्वमा आएको समूहले चिकित्सकमाथि आक्रमण गरेको जनाइएको छ।
वडाध्यक्ष नेतृत्वको समूहले परीक्षण पूरा नभएको शवलाई नियन्त्रणमा लिएकोसमेत चिकित्सकले जनाएका छन्। शव परीक्षण गरिरहेका चिकित्सकलाई गालीगलौज गर्दै आक्रमण गरेको छ भने अस्पतालमा पनि ढुंगा प्रहार गरेको छ।
शव अस्पतालमा बिहानै पुगे पनि प्रहरीको रिर्पोट साढे ११ बजे मात्रै पुगेकाले त्यस लगत्तै शव पोष्टमाटम सुरु गर्दा पनि ढुंगामुडा प्रहार गरेको डाक्टर दिनेश कुमार उपाध्यायले बताए।
उनले शव परीक्षणको काम अधुरै छोडेर ज्यान जोगाउन भागेको पनि सुनाए। प्रहरीकै अगाडि घटना भएको र पछि किटानी जाहेरी दिँदा पनि नलिएको चिकित्सकले जनाएका छन्। अस्पतालको सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४