जनकपुरधाम- जनकपुर-जयनगर रेलमार्ग सुरु हुनुअगावै टुटेको छ। विगत चार दिनको अविरल वर्षापछि कमला नदीमा आएको बाढीका कारण रेलमार्ग टुटेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशनभन्दा पूर्व इनर्वा नजिक कमला नदीको बाढीले ६० देखि ७० मिटर रेलवे ट्रयाक बगाएको छ।
कमला नदीको बाँध भत्किएपछि पानीको बहाव तिव्र हुँदा नवनिर्मित रेलवे ट्रयाक बगेको कँणेलले जानकारी दिए।
कमला नदीमा आएको बाढीले धनुषाको पूर्वी भेग बढी प्रभावित भएको छ। बाढीका कारण विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा उद्धार गरेर राहत पुर्याउने कार्य भइरहेको उनले बताएका छन्।
जनकनन्दनी गाउँपालिकाको ईनर्वालाई केन्द्र बनाएर नेपाली सेनाको हेलिकप्टरले राहत पुर्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कँणेलले बताएका छन्।
नेपाल रेलवे साइट कार्यालयका प्रमुख विनोद ओझाका अनुसार इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले रेल्वे ट्रयाक बगाएको बताएका छन्।
बाढिले रेलवे ट्रयाक बगाएको बारे आफूहरुले भारतीय पक्षलाई जानकारी गराइसकेको बताए।
यसैगरी अत्याधिक वर्षाका कारण जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खाल भत्केको उनले जनाए। बाढीबाट भएको क्षतिबारे अनुगमन तथा निरीक्षण कार्य भइरहेको उनले बताएका छन्।
रेलवे ट्रयाक भत्किएपछि यही अक्टोबरदेखि सञ्चालन हुने भनिएको जनकपुर–जयनगर रेलासेवा लम्बिने भएको छ। सरकारले यसै वर्षको अक्टोबरदेखि रेल सञ्चालन गर्ने तयारी गरेको थियो।
रेलसेवा सुरुगर्न रेल विभागले भारतसँग झण्डै तीन अर्ब खर्चेर रेल खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४