काठमाडौं- अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ।
बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५-५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३र३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २-२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १-१ जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये २२ जना महिला २८ जना पुरुष रहेका छन्।
बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १-१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३-३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १-१ जना गरी ३५ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।
साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३-३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २-२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १-१ जना गरी जम्मा २५ जना घाइते भएका छन्। घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४