बुधबार, साउन २७, २०८३

उर्लियो कमला, दुईसय घर विस्थापित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- चार दिनदेखि लगातार भइरहेको वर्षाले प्रदेश २ का अधिकांश जिल्ला डुबानमा परेका छन्।

डुबानका कारण प्रदेश २ को राजधानी जनकपुरसहित जिल्लाका ग्रामीण भेगहरुमा जनजीवन कष्टकर बनेको छ।

धनुषा र सिरहाको सीमा छुट्याउने कमला नदीको बाँध फुटेपछि धनुषातर्फ करिब दुईसय घरपरिवार विस्थापित भएका छन्। जनकनन्दनी गाउँपालिकाको सघारा नजिक बाँध फुटेको बताइएको छ।

कमलाको बाँध फुट्दा गाउँनै डुबानमा परेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए। उनका अनुसार ३० मिटरसम्म बाँध फुट्दा त्यस क्षेत्रका घरहरु डुबानमा परेका हुन्। बाढीका कारण विस्थापित भएकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्य भइरहेको कँणेलले बताए।

यता धनुषाको दक्षिणी सीमाक्षेत्रस्थित जटही र भारतको पिपरौन जोड्ने जलाइद नदीको नवनिर्मित पुल छेउको माटो उप्केपछि पुलभएर हुने सम्पूर्ण आवागमन ठप्प भएको छ।

बाढीमा फसेका इन्जिनियरसहित ९ जनाको उद्धार हुन सकेन

कमला नदीको बाढीमा विहिबारदेखि फसेका इन्जिनियरसहित ९ जनाको हालसम्म उद्धार हुन सकेको छैन।

धनुषाको सघारा र सिरहाको बस्तीकट्टी गाउँपालिका जोड्ने कमला नदीमा हुलाकी सडकको निर्माधीन पुल बनाउन खटिएका इन्जिनियरसहित ९ जना बाढीमा फसेका हुन्।

इन्जिनियर जामुन यादवसहित ९ जना मजदुरको टोली बाढीमा फसेका हुन्। इन्जिनियर यादवसहित २ जना चौकीदार, स्काभेटर चालक बाढीको भंगालोमा फसेको बताइएको छ।

नदीको बीचमा रहेको भंगालो निरन्तर कटान भइरहेकोले जुनसुकैबेला बाढीले बगाउने खतरा बढेको स्थानीयले बताएका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी कँणेलले नदीमा पानीको बहाव उच्च रहेकोले डुंगाबाट उनीहरुको उद्धारमा समस्या भएको बताए।

यद्यपि नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरहरु उनीहरुको ज्यान जोगाउन पहल गरिरहेको उनको भनाइ छ।

उपमहानगरबासी विस्थापित

भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाकै कतिपय घरपरिवार विस्थापित भएका छन्। अत्यधिक वर्षापछि घरभित्र पानी पसेपछि उपमहानगरपालिकाको वडा नम्बर १, ७ लगायतका सर्वसाधारण विस्थापित भएका हुन्। 

वडा नम्बर १ मा विस्थापित भएकाहरुलाई मिल्स एरियास्थित धर्मशालामा राखेर राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कँणेलले बताए।

यसैगरी वडा नम्बर ७ स्थित मुसहरी टोलका विस्थापितहरुलाई एक प्राथमिक विद्यालयमा राखिएको छ। 

मुसहरी टोलका ५० भन्दा बढी घरपरिवारलाई रामजानकी आधारभूत विद्यालयमा सारिएको वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले जानकारी दिए।

वर्षाका कारण जनकपुर उपमहानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। स्थानीयहरुका अनुसार वर्षामा केही वडाहरु यसअघि प्रभावित भएपनि हरेक घरमा पानी पहिलो पटक पसेको हो।

घरहरुमा पानी प्रवेश गरेपछि जनजीवन कष्टकर बनेको छ। यसैगरी कतिपय पसलहरुमा पानि पसेपछि लाखौंको क्षति भएको जनकपुर उद्योग वाणिज्य संघले जनाएको छ।

वर्षाका कारण यहाँका सरकारी कार्यालयका साथै बाह्रबिघा मैदान, जनकपुर उद्योग वाणिज्य संघ, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय,संघीय प्रहरी कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला हुलाक कार्यालय लगायतका दर्जनौं सरकारी कार्यालयहरु डुबानमा परेको छ।

सदरमुकामसँग सम्पर्क विच्छेद

लगातारको वर्षापछि धनुषाका पूर्वी भेगका बासिन्दाहरुको सदरमुकाम जनकपुरसँग सम्पर्क विच्छेद भएको छ। खास गरेर धनुषाको शहीदनगर नगरपालिका, सबैला नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिकाको जनकपुरसँग सम्पर्क विच्छेद भएको हो।

बाढीका कारण ठाउँठाउँमा बाटो काटिएपछि जनकपुरसम्मको आवतजावत बन्द भएको हो। यसैगरी कतिपय पुलहरु समयमै निर्माण हुन नसकेपछि पैदल आवतजावतमा समेत समस्या भएको यसैगरी कतिपय पुलहरु समयमै निर्माण हुन नसकेपछि पैदल आवतजावतमा समेत समस्या भएको छ।

यातायात प्रभावित

लगातार वर्षा हुँदा यातायात सञ्चालनसमेत प्रभावित भएको छ। बाढीले सडक कटान गरेपछि जनकपुरबाट लामो तथा छोटो दुरीको यातायातका साधन सञ्चालन भएको छैन्।

जनकपुरबाट पूर्वतर्फ जाने गाडी सञ्चालनमा रहेपनि अन्य कुनै सवारी साधान सञ्चालनमा आउन नसकेको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए।

महोत्तरीको बर्दिवासस्थित भव्सी खोलामा आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको उनले बताए। यसैगरी जनकपुर–जलेश्वर सडक खण्डको दुई स्थानमा सडक कटानमा परेपछि यातायात सञ्चालन हुन नसकेको उनले जानकारी दिए।

यता जनकपुरको विमानसेवा समेत शुक्रबारदेखि प्रभावित भएको छ। रनवेमा पानी जम्नुका साथै विमानस्थलस्थित उपकरणहरु डुबानमा परेपछि हवाइसेवा प्रभावित भएको हो। 

अत्यधिक वर्षापछि विमानस्थलको धावनमार्गसहित भुइँतल्लामा रहेको कार्यालयमा पानी पसेपछि हवाइसेवा प्रभावित भएको बुद्ध एयरका जनकपुर प्रमुख विजयप्रसाद सिंहले बताए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।