बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हरैया सुकुम्बासी बस्तीमा वाइसीएलको आगजनी, बसाल्नेले नै भत्काए बस्ती

हरैया सुकुम्बासी बस्तीमा वाइसीएलको आगजनी, बसाल्नेले नै भत्काए बस्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- तत्कालीन नेकपा माओवादीले जग्गा कब्जा गरी आफैले बसालेका सुकुम्बासीलाई अहिले आएर उठाउन थालेपछि कैलालीको गोदावरी नगरपालिका–६ हरैयाका सुकुम्बासीको बिचल्ली भएको छ।

लामो समयदेखि हरैया शिविरमा बस्दै आएका सुकुम्बासी परिवारलाई सो जग्गा किनेको सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रा.लि पोखराले पूर्व माओवादी प्रयोग गरेर हटाउन थालेपछि बर्खाको झरीमा सुकुम्बासीको बिचल्ली भएको हो।

पूर्व माओवादी दलको भ्रातृ संगठन वाइसिएल प्रयोग गरेर शुक्रबार हरैया शिविरमा बस्दै आएका सुकम्बासीका टहरामा आगो लगाइएको छ। बिहीबार घर टहरा हटाउनको लागि पनि नेकपाका कार्यकर्ता परिचालन गरिएका थिए।

लामो समयदेखि उक्त जग्गामा बस्दै आएका सुकुम्बासी परिवारले आफूहरुको उचित व्यवस्थापन नभएसम्म जग्गा नछोड्ने अडान लिइरहेका छन्।

‘बरु ज्यान दिन तयार छौँ तर हामी यो जग्गा छोड्दैनौ’ सुकुम्बासी सरु बलायरले भनिन्, ‘दैनिक ज्याला मजदुरी गरेर खाने भएकाले आफूहरुलाई बजार क्षेत्र नजिक राखे ठिक छ नत्र यो ठाउँ कुनै हालतमा छोड्दैनौँ।’

नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले नै जग्गा दिन्छौँ भनेर आफूहरुलाई बसालेको र अहिले उनकै निर्देशनका हटाउने काम भएको बलायरले बताईन्।

रणबहादुर शाहको झण्डै २३ बिगाह जग्गा तत्कालीन माओवादीले नै २०६१ सालमा कब्जामा लिएर सुकम्बासीलाई राखेको थियो। केही वर्ष पहिले मात्र उक्त जग्गा माओवादीका नेताहरुकै योजनामा सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रा.लिलाई बिक्रि गराइएको थियो। 

यो जग्गा खरिद बिक्रि प्रक्रियामा तत्कालीन माओवादी नेताहरुको ठूलै कमिसनको खेल रहेको आरोप लाग्दै आएको छ। त्यो बेला जग्गामा राख्ने र अहिले आएर हटाउन खोजेको भन्दै सुकुम्बासीहरु लेखराजलगायतका नेताहरुप्रति आक्रोशित बनेका छन्।  

जग्गा किन्ने कम्पनीले भने हरैयाका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ स्थित धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर व्यवस्थापन गरिएको दाबी गर्दै आएको छ।

तर त्यहाँ व्यवस्थापन राम्ररी नगरिएको भन्दै केही सुकम्बासी फेरि हरैया फर्किएका थिए। हाल ५२ परिवार हरैयामै शिविरमा बसोवास गर्दै आएका छन्। सौभाग्य रियल स्टेट एण्ड हाउजिङका प्रतिनिधि शंकर कार्कीले भने बसेका शुकुम्बासीलाई कम्पनीले बिकल्पसहित अन्य ठाउँमा सारे पनि थप केही नयाँ परिवार आएपछि समस्या भएको बताए।

कम्पनीले आफ्नो जग्गा खाली गराउन प्रहरी प्रशासन लगाएको थियो। तर त्यहाँ बसेका परिवारले मानेका छैनन्। जिल्ला प्रहरी प्रमुख सुदिप गिरीले भने प्रहरी जग्गा खाली गराउन का लागि नभई सुरक्षाका लागि परिचालन भएको बताए। 

लेखराज भट्टको निर्वाचन क्षेत्र रहेको गोदाबरीमा प्रदेश राजधानी तोक्नुको पछाडि पनि हरैयाको सोही जग्गा मुख्य कारण रहेको धेरैले आंकलन गरेका छन्।

सोही जग्गामा नै राजधानी राख्ने र जग्गाबाट मोटो कमिशन खाने योजनामा भट्ट लगायतका नेताहरुको योजनामा नै राजधानी गोदावरी तोकिएको आरोप लाग्ने गरेको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सुकुम्बासीले कब्जा गरेको उक्त महंगो जग्गा सस्तोमा बिक्रि गराउन पनि नेताहरुकै हात रहेको स्थानीयहरु बताउछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।