धनगढी - सर्वोच्च अदालतको आदेश दिएपछि रिहा भएका विप्लव समूह कैलालीका विद्यार्थी नेता बबरजंग सिंह पुन: पक्राउ परेका छन्।
शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि कैलाली जिल्ला अदालतले उनलाई रिहा गरेको थियो। रिहा गरेपछि कैलाली प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्न खोजेपनि उनी भागेका थिए।
उनलाई प्रहरीले जुगेडाबाट पक्राउ गरेको हो। जिल्ला अदालतबाट मोटरसाइकलमा गएका सिंह जिल्ला प्रशासन, पूर्व एमाले पाटी कार्यालय, धनगढी गाउँ हुँदै जुगेडा पुगेका थिए। उनलाई प्रहरीका मोटरसाइकल र जीपले पछ्याएका थिए। तर अहिले सम्म कैलाली प्रहरीले उनलाई पक्राउ गरेको आधिकारीक जानकारी दिएको छैन।
यसअघि बैशाख २७ गते पक्राउ परेका सिंहलाई कैलाली जिल्ला अदालतले पाँच लाख धरौटीमा छोड्न आदेश दिएको थियो। तर धरौटी नबुझाएर कारागार चलान भएका सिंहले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। सर्वोच्च अदालतले विना कारण उनलाई पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो।
सिंह विरुद्ध कैलाली प्रहरीले राजद्रोह र संगठित अपराधको मुद्दा चलाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४