काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले लगातारको वर्षापछि आएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतिका बारे प्रमुखताका साथ समाचार प्रकाशन गरेका छन्।
अधिकांश राष्ट्रिय दैनिकले बाढी तथा पहिरोले पुर्याएको क्षतिबारेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेपनि उनीहरुले फरक फरक तथ्याङ्क प्रस्तुत गरेका छन्। कान्तिपुरले पहाडमा पहिरो, तराईमा डुबान कम्तिमा २२ को मृत्यु, ५ बेपत्ता, ४३५ परिवार विस्थापित शीर्षकको समाचार प्रकाशन गरेको छ भने नागरिकले राजधानीसहित मुलुकका विभिन्न भाग डुबानमा : २१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित शीर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै अन्नपूर्ण पोष्टले बाढीको वितण्डा : १९ को मृत्यु ८ बेपत्ता, सयौं घाइते, हजारौं परिवार विस्थापित शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै नयाँ पत्रिका दैनिकले देशभर बाढी र पहिरोको विनाश : १८ को मृत्यु , ७ बेपत्ता, काठमाडौंको व्यवस्थित कोलोनीबाटै बोटमा उद्धार शीर्षकको समाचार प्रकाशन गरेको छ।
नागरिक लेख्छ, वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ। वर्षासँगै डुबान र बाढी पहिरोमा परी शुक्रबार २१ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुङ्गा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरेर २१ जनाको मृत्यु भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४