काठमाडौं - सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिनभर बिपी कोइरालाको नाम लिने प्रतिपक्षी कांग्रेस रातभर विप्लवको समर्थनमा रहने गरेको आरोप लगाएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई समर्थन गरेको हो कि लोकतन्त्रलाई समर्थन गरेको हो ? स्पष्ट हुनुपर्यो ।’
उनले सरकार जहिले पनि नागरिकको बाँच्न पाउने अधिकारप्रति सजग रहेको बताउँदै बरु विपक्षी नै हिंसाको समर्थनमा रहेको आरोप लगाए । उनले हिंसाप्रति धारणा के हो स्पष्ट पार्न विपक्षीलाई आग्रह गरे । उनले भने, ‘हिंसाको बारेमा काङ्ग्रेसलाई कन्भिक्स गराउने अवस्था आयो भने काङ्ग्रेसको शान्तिको एउटा तारा र अर्को लोकतन्त्रको तारा कता हरायो ?’
उनले अगाडि भने, 'कि हिंसा गलत छ भन्नु पर्यो होइन भने विप्लव ठिक छन् भन्नु पर्यो।'
मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्नु आग्रह गरे। संविधान, कानुन र शान्तिका विरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि उनले प्रश्न पनि गरे।
भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो। सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो। त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन , संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाए।
मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानवीनका लागि संसदीय समिति गठन गर्न नसकिने बताए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ। मन्त्री बास्कोटाले संसदीय समितिले छानवीन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४