काठमाडौं - वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
चिकित्सा शिक्षा सुधार माग गर्दै आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाए। उनले भने, ‘योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी सो आयोगको उपाध्यक्ष छनौट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग माग गर्नुपरेको हो।’
चिकित्सक केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्य क्षमता प्रमाणित भइसकेका व्यक्ति नियुक्त गर्न सरकारलाई सचेत गराए। उनले त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।
डा. केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आमनागरिकको मुख थुन्ने गरी आएको दाबी गर्दै तत्काल खारेज गर्न पनि सरकारसँग माग गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४