बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गायत्रीमन्त्रबारे प्रधानमन्त्रीले दिए भ्रामक अभिव्यक्ति

गायत्रीमन्त्रबारे प्रधानमन्त्रीले दिए भ्रामक अभिव्यक्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 
काठमाडौं- शुक्ल यजुर्वेदमा रहेको गायत्रीमन्त्र रचनाकारका बारेमा भ्रामक अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी ओलीले फेरि अर्को झूट बोलेका छन्।

प्राज्ञिक सभामा यस्तो संवेदनशील विषयमा भ्रामक अभिव्यक्ति दिएर प्रधानमन्त्री फेरि ओलोचित बनेका हुन्।

प्रधानमन्त्री ओलीले बुधबार त्रिभुवन विश्वविद्यालयको ६० औं स्थापना दिवसमा विद्वान् प्राध्यापकहरूसामु भने, ‘गायत्री मन्त्रको रचना कोसीको किनार चतरामा वसिष्ठ ऋषिबाट भएको थियो।’ गायत्रीमन्त्रको रचनाकारका बारेमा अभिव्यक्ति दिँदा उनी बीचबीचमा अड्किएका थिए।

‘प्रधानमन्त्री जस्तो व्यक्तिले आफूले नजानेको विषयमा त्यसरी अकमकिएर अभिव्यक्ति दिएको पटक्कै सुहाएन। आफूले जानेको विषयमा पो बोल्नुपर्छ त’, समारोहमा सहभागी त्रिविका एक प्राध्यापकले भने। यस विषयमा पनि प्रधानमन्त्रीले हल्का टिप्पणी गर्ने आफ्नो शैली देखाएको उनको भनाइ थियो।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सामाजिक सञ्जालमा निकै टीकाटिप्पणी भएका छन्। धेरैले प्रधानमन्त्रीले संवेदनशील र गम्भीर विषयमा हल्का अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

ट्विटरमा सरोज बस्नेतले लेखेका छन्, ‘ प्रधानमन्त्री भएर यतिसम्म फटाहा त नबोल्नु नि हौ !
आफ्नो नभए नि भाषण सुन्नेको लाज त राखौँ !’

यस्तै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले गायत्रीमन्त्र विश्वामित्रले रचना गरेको उल्लेख गरे पनि त्यसको ठोस प्रमाण भने दिन सकेका छैनन्।

प्रधानमन्त्रीले वशिष्ठ ऋषिले रचना गरेको भनेर जुन अभिव्यक्ति दिए त्यो आफैंमा गलत रहेको विद्वान्हरूको भनाइ छ।

शुक्ल यजुर्वेदको ३६ औं अध्यायमा गायत्री मन्त्र समावेश छ। वेद हिन्दु सनातन धर्मावलम्बीको आधार ग्रन्थ हो। वेदका मन्त्र/ऋचाहरू अनादि मानिन्छन्। वेदका अध्येता विष्णुप्रसाद पोखरेल भन्छन्, ‘अनादि भएकाले यसलाई अपौरुषेय भनिन्छ। अपौरुषेय भनेको कसैले रचना गरेको हैन।’अपौरुषेयो वेदः भनिएबाट वेद अपौरुषेय रचना हो भन्ने बुझिन्छ।

मन्त्रद्रष्टाऋषयः अर्थात् ऋषिहरू मन्त्रद्रष्टा हुन्छन् भनिएको पाइन्छ। पोखरेलले भने, ‘ऋषिहरू मन्त्रद्रष्टा हुन्। उनीहरूले यस्ता मन्त्र रचना गरेको भन्ने पाइँदैन।

त्यसैले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गलत छ।’ शास्त्रहरूमा ‘ब्रह्ममुखात् निःसृतो वेदः’ भनिएबाट पनि वेद ब्रह्माको मुखबाट निस्किएको भन्ने बुझिन्छ। तर ब्रह्माले वेद रचना गरेका हुन्, उनले नै सुनाएका हुन् वा कसैले रचना गरेको भन्नेबारे वैज्ञानिक तथ्य भने फेला परेको छैन।

अघिल्लो पुस्ताबाट सुनेर ग्रहण गरिने भएकाले वेदलाई श्रुति पनि भनिन्छ। धार्मिक र सांस्कृतिक रुपमा बोल्दा प्रधानमन्त्रीले हल्का अभिव्यक्ति दिन नहुने भनाइ विद्वान्हरूको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।