बुधबार, साउन २७, २०८३

नेकपा–समाजवादी : सरकार छोड्ने कि एकीकरण गर्ने?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सत्तारुढ नेकपा र अर्को सत्तारुढ दल समाजवादी पार्टीबीच एकीकरणका लागि अनौपचारिक रूपमा वार्ता हुन थालेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सपाका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच नियमित भेटघाट हुन थालेपछि पार्टी एकीकरणको चर्चा बाहिर आएको छ।

त्यतिमात्रै नभई गत शुक्रबार नेकपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले समाजवादीलाई एकीकरणका लागि प्रस्ताव गरे। यस्तै प्रचण्डले अर्को एक कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईलाई नेकपामा आउन आग्रह गरेका थिए।

यस्तै प्रधानमन्त्री ओलीले बाबुराम मात्र नभई समाजवादीलाई नै एकीकरणका लागि प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए, ‘बाबुरामजी मात्रै नभई समाजवादीका सबै नेतालाई आउन आग्रह गर्दछु। सबै जना मिलेर देश विकास गरौं।’

त्यसलगत्तै डा. बाबुराम भट्टराईले ट्विट गर्दै ‘डन’ दीपक मनाङेलाई नेकपा प्रवेश गराएको प्रसंग कोट्याउँदै नेकपाका नेताहरूको भनाइमाथि प्रहार गरेका थिए।

‘कमरेड दीपक मनाङेजस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र?’ भनी बाबुरामले प्रश्न गरेका थिए।

नेकपा र समाजवादीबीच एकीकरण सम्भव छ?

नेकपा र समाजवादी पार्टीबीच सैद्धान्तिक कुरा मिल्छन्। दुवै दलले आफूलाई समाजवादी भन्न रुचाउँछन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका विषयमा दुवै दल नजिक छन्। पूर्ण समानुपातिक संसद्को पक्षमा समाजवादी पार्टी रहेको छ भने नेकपाभित्र माओवादी पक्षधर पनि त्यसको पक्षमा छ।

समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल समयसँग भने, ‘नेकपासँग केही एजेन्डा मेल खान्छ। केही फरक पनि छ। विशेषगरी नेकपाभित्रको तत्कालीन माओवादी पक्षका नेताहरुसँग हाम्रा धेरै एजेन्डा र सिद्धान्त समान छन्।’

केही एजेन्डा मिल्दैमा नेकपासँग तत्काल एकीकरण सम्भव नरहेको दाबी गर्दै नेता श्रेष्ठले भने, ‘एकीकरणको हल्ला चलेको छ। तर, त्यस विषयमा कुनै औपचारिक छलफल वा कुराकानी भएको छैन।’

नेकपाका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष भट्टराईबीचको भेटघाटबारे समाजवादीका अर्का नेता डा. शिवजी यादव भन्छन्, ‘पार्टी एकीकरणकै विषयमा त उहाँहरुबीच छलफल भएको छैन होला। सायद उहाँहरुबीच द्वन्द्वकालीन मुद्दा समाधानका विषयमा छलफल भएको हुन सक्छ। यो भेटघाटलाई एकीकरण वार्ताका रुपमा लिनु हुँदैन।’

समाजवादीले सरकार छोड्छ?

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारम्बार सरकार छोड्ने चेतावनी दिँदै आएका छन्। पार्टीका अन्य नेताहरुले पनि सरकार छोड्न दबाब दिँदै आएका छन्।

तर, अहिलेसम्म यादवले सरकार छोड्ने कुनै संकेत देखाएका छैनन्।

भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण गर्ने समयमा दुई दलबीच सरकार छोड्ने सहमति भएको थियो। 

संसदबाट बजेट पारित भएसँगै सरकारबाट बाहिरिने विश्वास यादवले दिलाएका थिए। तर, बजेट पारित भए पनि सरकारबाट बाहिरिने कुरा नगरेपछि तत्कालीन नयाँ शक्तिका नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

तत्कालीन फोरमलाई सरकारमा सहभागी गराउन महत्त्वपूर्ण भूमिका खेलेका सहअध्यक्ष श्रेष्ठ भन्छन्, ‘संविधान संशोधन भएन। हाम्रा माग पूरा भएनन्। हामीले सरकार छोड्ने भनेका छौं। यस्तै अवस्थामा सरकारमा रहिरहनुको औचित्य छैन।’

सरकार कहिले छोड्ने भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘चालू संसद अधिवेशनभित्रै सरकारबाट बाहिरिन्छौं। पार्टीले त्यसै किसिमको तयारी गरेको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।