विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन्। माधवकुमार नेपालको साथ छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउन राईले राजीनामा दिन लागेका हुन्।
उनलाई एमालले राजीनामा दिन निर्देशन दिइएको पार्टी उच्च स्रोतले जानकारी दिएको छ। यसका लागि प्रदेशको एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाएको छ।
संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले संसदीय दलको नेताबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी गरिएको एक सांसदले बताए। सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी छ। मुख्यमन्त्री राईले दलको नेताबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा दिने स्रोतको दाबी छ।
माधव नेपाल समूहमा रहेका आचार्य संसदीय दलको निर्वाचनमा शेरधन राईसँग २ मत अन्तरले पराजित भएका थिए। नेपाल समूहबाट गुट परिवर्तन गर्दै आचार्य ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए।