काठमाडौं - त्रिवि रजिस्टार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिस्टार उप्रेतीले सञ्चारमाध्यममा आएका परीक्षा नतिजासम्बन्धी त्रुटिहरु संस्थागत नभई व्यक्तिगत भएको बताए।
परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्म प्रक्रियाहरुको फेहरिस्त प्रस्तुत गर्दै उनले मार्कस्लिपबाट मार्क लेजरमा नम्बर चढाउने समयमा व्यक्तिको त्रुटिका कारण ९ हुनुपर्नेमा ६९ भएको स्पष्टीकरण दिए। यद्यपि ६९ अंक पाएका सुरेन्द्र कोइरालाले गोल्डमेडल प्राप्त नगरेको उनले बताए ।
बैठकमा सांसदहरुले परीक्षा प्रणालीदेखि नतिजा प्रकाशनसम्मको व्यवस्थापन चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य गजेन्द्रबहादुर महतले त्रिविको लापरबाही र त्रुटिको जिम्मेवारी पनि सरकारले लिनुपर्ने र सरकार सञ्चालनसँग जोडिने भएकाले त्यसतर्फ गम्भीर बन्न रजिस्ट्रारको ध्यानाकर्षण गराए।
अर्का सदस्य अञ्जना विशंखेले भनसुन गरेर नम्बर थप गर्न सकिन्छ कि भन्ने अभिप्रायले रिटोटलिङ हुने गरेको र त्यसका लागि आफूहरूलाई समेत आग्रह गर्ने गरिएको बताइन्।
समिति सभापति जयपुरी घर्तीले नियतले नभई कर्मचारीले त्रुटि गरेको भनेर उम्कने अवस्था नभएको भन्दै परीक्षा र नतिजा प्रणालीमा देखिएका गम्भीर त्रुटि रोक्न आग्रह गरिन्।
९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई अगाडि ६ थपेर ६९ पुर्याएको समाचार बाहिर आएपछि समितिले त्यसबारे छलफल गर्न रजिस्ट्रार उप्रेती र उपकुलपति तीर्थराज खनियाँलाई बोलाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४