शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मुना-मदन मार्फत् पलेँटीमा दार्जिलिङ, सिक्किम र मनिपुरको संगम

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- यस महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत हुने भएको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन्। संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो। गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए। 

गतवर्ष पलेँटीमा सहभागी हुन् आएकी शान्ति ठटालबाटै पाएको त्यो जानकारीपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गर्‍यो। उनले काठमाण्डौको अनुरोधलाई सिक्किमको एकान्त बासमा पुगेर सम्झने सिलसिला शुरु गरिन्। त्यसकै परिणाम संगीतकार ठटालले सृजना गरेका मुना-मदनका धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएका छन्।

संगीतकार ठटालले गत महिनाको पलेँटीमा आफ्ना नयाँ पुराना संगीत प्रस्तुत गरेकी थिइन्। त्यसयता मुनामदनको संगीत संयोजनमा क्रियाशील ठटाल काठमाण्डौमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरीरहेकी छन्।

नेपाली गीति साहित्यमा अत्यधिक लोकप्रिय मुना-मदनले नेपाली भाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको छ। त्यसको झलक यसपालीको पलेँटीमा स्पष्ट देखिने भएको छ।

यो पलेँटीमा दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी बिमला सेन्चुरी प्रधान पनि संलग्न रहनेछिन्। त्यस्तै मनिपुरमा जन्मेकी लोकप्रिय गायिका मिना निरौलाले पनि मुनामदनका हरफहरूलाई स्वर दिनेछिन्।

मुना-मदनको यो प्रस्तुतिमा अर्को आकर्षण पनि रहेको छ। दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ यसपालीको पलेँटीमा सूत्रधारको रुपमा प्रस्तुत हुनेछिन्। त्यसैले यो पलेँटी मार्फत् काठमाण्डौले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ। मुना-मदनमा पलेँटीका संयोजक आभास लगायत बाँसुरी वादक बलराम समालको स्वर पनि सुन्न पाइने छ।

‘मैले उहिल्यै धुन भरेको मुना-मदन झण्डै झण्डै भूली सकेकी थिएँ, पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु। यसको रङ्ग भने लोकले गाउँदै आएको मुना-मदनकै मौलिक धुनमा आधारित छ।‘ आफूले धुन भरेको कृतिका बारे संगीतकार ठटालले जानकारी गराइन्।

‘सन् ७७ ताका गान्तोकमा कार्यरत हुन थाल्दा यसको प्रस्तुति भएको थियो; एउटा रमाइलो जानकारी गराउँछु- त्यतिबेला मुना-मदन गीतिनाटकको निर्देशक पनि मै पो थिएँ त !’ उन्मुक्त हाँसोकासाथ ठटाल भन्दै थिइन्- ‘यसपाली भने गीति नाटकको रुपमा होइन कथा गायनको रूपमा प्रस्तुत हुनेछ।‘

‘संगीतमा निरन्तर क्रियाशील शान्ति दिदीका झण्डै बिर्सिसकेका मुना-मदनका धुनलाई पलेँटीको अभिलेखालयमा संकलन गर्न पाउनु सानो उपलब्धि होइन; देवकोटाको यसै कृतिमा अग्रज संगीतकार अम्बर गुरुङले भर्नु भएका धुन हामीले सुन्न पाएनौं। त्यसलाई बेलैमा व्यवस्थित ढंगले अभिलेखायलमा राख्न पाएको भए नेपाली संगीत र साहित्यको ढुकुटी थप भरिलो हुने थियो।‘

पलेँटी संयोजक आभास भन्दै थिए- ‘शान्ति दिदीले हामीलाई यसको अभिलेख राख्ने मौका दिनुभएको छ, यसले हाम्रो संगीत र साहित्यको ढुकुटीमा अनमोल रत्न थपिएको छ।‘

नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिइरहेका छन्।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइन, फोन र ईमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको जानकारी प्राप्त भएको छ। त्यसकानिम्ति www.thuprai.com साथै paleti@nepalaya.com.np र ९८०३९१९२६६ मा सम्पर्क गर्न सकिने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ। 

यही जुन महिनाको, २८, २९ ३० तारिख (असार १३, १४ र १५) मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्