सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन्। वडा नम्बर–२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ।
सोही नगरपालिकाको वडा नम्बर–८, केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । घटना मंगलबार दिउँसो भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन्। उनको खोजीका लागि ठूलो संख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ।
गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएको वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए। रासस