एजेन्सी- ११ औं विश्वकपसम्म ब्याट्सम्यानले केही विशेष मौकामा थुप्रै यादगार पारी खेलेका छन् । सन् १९८३ को विश्वकपमा भारतले विश्वकपको उपाधि जित्दा कप्तान कपिल देवले जिम्बाब्बेविरुद्ध खेलेको पारी पनि त्यस मध्यको एक हो । भारतले ९ रनमा ४ विकेट गुमाउँदा मैदान प्रवेश गरेका कपिलले १ सय ७५ रनको उत्कृष्ट पारी खेलेका थिए ।
त्यस्तै वेस्टइन्डिजका पूर्वखेलाडी विव रिचर्डसले १९८७ को विश्वकपमा श्रीलंकाविरुद्ध १ सय ८१ रनको पारी खेलेका थिए । उनीहरु मात्र होइन् । त्यस्तै यादगार पारी खेल्ने थुप्रै खेलाडीहरु छन् । यहाँ त्यस्तै उत्कृष्ट पारी खेल्ने पाँच खेलाडीको चर्चा गरिएको छ ।
मार्टिन गुप्टिल (न्युजल्यान्ड)
न्यजल्यान्डका सलामी ब्याट्सम्यान मार्टिन गुप्टिलले २०१५ को विश्वकप अन्तर्गत क्याटरफाइनल खेलमा वेस्टइन्डिजविरुद्ध एकदिवसीय इतिहासकै दोस्रो व्यक्तिगत ठुलो स्कोर बनाएका थिए । गुप्टिनले उक्त खेलमा न्युजल्यान्डका लागि पहिलो ओभरदेखी अन्तिम ओभरसम्म बलको सामना गरेका थिए । उनले उक्त खेल अवधिभर १ सय ६३ बलको सामना गर्दै २ सय ३७ रन बनाएका थिए । जुन विश्वकपको इतिहासमा एक व्यक्तिले बनाएको हाल सम्मकै सर्वाधिक स्कोर हो ।
गुप्टिलले यस खेलमा दोहोरो शतक बनाए । उक्त खेलको पहिलो ओभरमा गुप्टिलको क्याच वेस्टइन्डिजका ब्याट्सम्यान मार्लन सैमुअल्सले छोडेका थिए । खेलमा जिवनदान पाएपछि गुप्टिलले २ सय ३७ रनको दोहोरो शतक जोड्दा २४ चौका र ११ छक्का प्रहार गरेका थिए । गुप्टिलको उत्कृष्ट पारिसँगै न्युजल्यान्डले ६ विकेटको क्षतीमा वेस्टइन्डिजलाई ३ सय ९४ रनको लक्ष्य सुम्पेको थियो । अजाफमा वेस्टइन्डिजले २ सय ५० रन मात्र बनाउन सक्यो ।
क्रिस गेल (वेस्टइन्डिज)
सन् २०१५ कै विश्वकपमा वेस्टइन्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेलले पनि एक यादगार पारी खेलेका थिए । उनले जिम्बाब्बेविरुद्ध २ सय १५ रनको पारी खेलेका हुन् । यस खेलमा विन्डिज एक समय १ विकेट गुमाएर १ सय ६५ रनमा थियो । त्यसपछि मैदान प्रवेश गरेका गेलले तुफान ब्याटिङ गर्दै १०५ बलको सामना गर्दै २ सय १५ रनको दोहोरो शतक जोडे ।
उक्त खेलमा गेलको नाममा १० चौका र १६ छक्का रहेका छन् । त्यसपछि अर्को खेलमा गेलले मात्र ३३ बलमा १ सय रन पुरा गरेका थिए । गेलले दोहोरो शतकको पारी गुप्टिल भन्दा पहिले खेलेका थिए । त्यसैले गेल विश्वकपमा दोहोरा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
गैरी कस्र्टन (दक्षिण अफ्रीका)
भारतीय टोलीका पूर्वप्रशिक्षक गैरी कस्र्टन विश्वकपमा शतक बनाउने दक्षिण अफ्रीकाका पहिलो खेलाडी हुन् । ओपनर ब्याट्सम्यान कस्र्टनले १९९६ को विश्वकपमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध १ सय ८८ रनको पारी खेलेका थिए ।
उनको उक्त उत्कृष्ट पारीको मद्दतले दक्षिण अफ्रीकाले ३ सय २१ रन बनाएको थियो । कस्र्टनले आफ्नो पारीमा १३ चौका र ४ छक्का प्राहार गर्दा १५९ बलको सामना गरेका थिए । यस खेलमा युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाउन सकेको थियो ।
सौरव गांगुली (भारत)
भारतीय क्रिकेट टिमका पूर्वकप्तान सौरव गांगुलीले १९९९ को विश्वकपमा संभवतः आफ्नो बेस्ट पारी खेलेका छन् । गांगुलीले श्रीलंकाविरुद्ध एक यादगार पारी खेलेका हुन् । यस खेलमा गांगुली र राहुन द्रविडले श्रीलंकका बलर सामु उत्कृष्ट ब्याटिङ गर्दै ३ सय १८ रनको साझेदारी गरेका थिए ।
यो एकदिवसीय क्रिकेटमा अल टाइम रेकर्ड थियो । यस खेलमा द्रविडले १२९ बलमा १ सय ४५ रन जोडेका थिए भने गांगुलीले ११९ बलमा शतक पुरा गरेका थिए । त्यसपछि पुनः आक्रमक ब्याटिङ गरेका गांगुलीले १७ चौका र ७ छक्का प्रहार गर्दै १ सय ८३ रन जोडेका थिए ।
विव रिचर्डस (वेस्टइन्डिज)
वेस्टइन्डिजका पूर्व कप्तानसमेत रहेका विव रिचर्डसले श्रीलंकाविरुद्ध सन् १९८७ को विश्वकपमा १ सय ८१ रनको सानदार पारी खेलेका थिए । वेस्टन्डिजले ४५ रनमा २ विकेट गुमाएको अवस्थानमा मैदान प्रवेश गर्दै रिचर्डसले उत्कृष्ट पारी खेलेका थिए । १२५ बलको सामना गर्दै रिचर्डसले १६ चौका र ७ छक्का प्रहार गर्दै १ सय ८१ रन जोडेका हुन् ।
रिचर्डसको उत्कृष्ट पारीको मद्दतले वेस्टइन्डिजले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ६० रन बनाएको थियो । वेस्टइन्डिजका रिचर्डसले यसअघि भारतीय पूर्वकप्तान कपिल देवले बनाएको रेकर्ड ब्रेक गरेका थिए । वेस्टइन्डिजले यो खेल १९१ रनले जितेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४