बुटवल- लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका छन्। सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले प्रस्ताव पेस गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बीच दिउँसो ४ बजे प्रदेशसभा बैठक सुरु भएको छ।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले विपक्षी दलले सामान्य संसदीय मर्यादा कायम नगरेको भन्दै दुःख व्यक्त गरे। पूर्ववर्ति सरकारले ल्याएका योजनालाई निरन्तरता दिने उनको भनाइ छ। ३ वर्षको विरासतलाई चिर्दै दम्भ र अंहकारलाई तोडेर जनताको भावना सम्बोधन गर्न आफू नेतृत्वको गठबन्धन सरकार लागिपर्ने उनले बताए।
साउन २७ गते शंकर पोखरेल नेतृत्वको एमाले सरकार ढालेर चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका केसी संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन भएको थियो।
मुख्यमन्त्री केसिले संविधानको धारा १८८ को उपधारा १ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन्।
सदनमा प्रमुख प्रतिपक्ष एमाले सहभागी नभएपनि गठबन्धनको सरकारलाई समर्थन गरेको तर प्रतिपक्षी बेन्चमा बसेको राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसिको उपस्थितिलाई विपक्षी मानेर बैठक चलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री केसीले जनताको जीवनरक्षालाई नै गठबन्धन सरकारको पहिलो प्राथमिकता भएको बताए। यसलाई प्रस्थानबिन्दु मानेर काम गर्ने उनको भनाइ छ। जनतालाई निराश पार्ने काम नगर्ने र हावादारी गफ नदिने उनको दाबी छ।
गठबन्धनको नयाँ सरकारले भदौ १ गते नै विश्वासकको मत लिने तयारी गरेको थियो। तर, प्रतिपक्षी एमालेले सूर्य चुनाव चिन्हबाट विजयी भएका अजय शाही र विमलाकुमारी खत्री वलीलाई प्रदेशसभाबाट पदमुक्त गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो। शाही स्वतन्त्र राजनीतिक समूह र वलीले माओवादी केन्द्र राजेको भन्दै प्रदेशसभाले कारवाही गर्न नपर्ने जनाएपछि विश्वासको मतको चुनावी प्रक्रिया अघि बढेको हो।
प्रदेशसभामा केही समयपछि मतदानको प्रक्रिया सुरु हुनेछ।