काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन तेस्रो धारका नेताहरू सहमत भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति मान्न तयार रहेको बताएपछि स्थायी कमिटी बैठकमा सहभागी हुन यसअघि माधवकुमार नेपाल पक्षलाई साथ दिएका तर नयाँ पार्टी गठनमा उनलाई साथ नदिएका नेताहरू तयार भएका हुन्।
अध्यक्ष ओलीले माधवकुमार नेपाल लगायत १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्नसमेत सहमति जनाएको तेस्रो धारमा सक्रिय नेता योगेश भट्टराईले जानकारी दिएका हुन्। ‘उहाँले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सबै साथीहरुलाई जिम्मेवारी दिने भन्नुभएको छ,’ ओलीसँग छलफलमा सहभागी योगेश भट्टराईले भने, ‘हामी एकताका लागि अन्तिम पहलकदमी लिने प्रयासमा छौं।’
'स्थायी समिति बेठक अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरुलाई प्रक्रिया स्थगित गर्न र पार्टी एकताका पक्षमा आउन आह्वान गरिनेछ,' भट्टराईले भने, ‘देशभरका एमालेका सबै साथीलाई विभाजनका पक्षमा नजाऔं, पार्टीभित्र कसै माथि पनि पक्षपात र अन्याय हुँदैन भनेर स्थायी समितिले आश्वस्त पार्छ।’
बैठक मंगलबार बिहान ११ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। पार्टी विभाजनपछि पहिलोपटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो।
एमालेको तेस्रो धारमा भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई छन्।