काठमाडौं– प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले सोमबार संयुक्त वक्तव्य जारी गर्दै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुुन्।
विज्ञप्तिमा भनिएको छ, ‘सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन्।’ विज्ञप्तिमा ओलीलाई संवैधानिक मर्यादाको पालना गर्न पनि सचेत गराइएको छ।
‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो। अतः सम्माननीय सभामुखविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रमुख प्रतिपक्ष दलका नेता र सांसदहरुले सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएकाले त्यसप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको जानकारी दिए।
उनले भने, ‘सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का माननीय सदस्यहरुले सम्मानीय सभामुखज्यूलाई लक्षित गरी दिनुएको संसदीय मर्यादा विपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख प्रतिपक्ष दलका नेताले सार्वजनिक मिडियामा सम्माननीय सभामुखविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
उनले नेपालको संवैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक रहेको स्मरण गराएका छन्। सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको उनको भनाइ छ। गुरुङले भने, ‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो। अतः सम्माननीय सभामुखविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं ’
नेकपा एमालेका सांसदहरुले गत भदौ ३ र ४ गते सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर पार्टीका तर्फबाट कारबाही गरिएका माधव नेपालसहितका सांसदहरुमाथि कारबाही गरिएको सूचना टाँस गर्न दबाब दिएका थिए भने संसदीय दलका नेता ओलीले सभामुखले दलले गरेको कारबाहीअनुसार सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति आक्रोश व्यक्त गरेका थिए।