काठमाडौं- मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी खेलाडीहरुको छनोट सम्पन्न भएको छ ।
नेपाल पौडी संघले विज्ञप्ती जारी गरि विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी दिएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन् ।
आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयकासाथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको पौडी संघले जनाएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको २१ औ राष्ट्रिय पौडी प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी गौरिका सिंहले ६ राष्ट्रिय किर्तिमानका साथै आफुले सहभागिता जनाएको सवै विधामा स्वर्ण हात पारेकी थिईन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४