काठमाडौं– माधव नेपाललाई साथ नदिएका एमाले नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका छन्। ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेता बालकोट पुगेका हुन्। नेताहरुबीच अहिले बालकोटमा वार्ता जारी छ।
नेपाललाई साथ नदिएका नेताले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न ओलीलाई समय दिएका थिए। एमाले विवाद समाधानका लागि गठित कार्यदलले एकताका लागि १० बुँदे सहमति गरेको थियो। दुवै पक्षबाट सहमति कार्यान्वयन नहुँदा एमाले विभाजन भएको कार्यदलका नेताहरुको बुझाइ छ।
सोही विषयमा छलफल गर्न नेताहरू बालकोट गएका हुन्। उनीहरू एमाले एकताका पक्षमा छन्। माधव नेपालसहित १४ जना सांसदमाथि गरेको कारबाही फिर्ता हुनुपर्ने माग उनीहरुको छ। यस्तै उनीहरूले पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गर्दै आएका छन्।