काठमाडौं - नन्दकृष्ण जोशी लोक देउडा गायक मात्र होइनन्, जनआन्दोलनका सशक्त हस्ती हुन्। आफूसँग भएको प्रतिभा र क्षमता सुदूरको देउडा भाकालाई नै हतियार बनाएर जोशी जनआन्दोलनमा तत्कालीन शाही शासनविरुद्ध सडकमा उत्रिएका थिए। उनकै शब्दमा रहेको झ्याम्म झ्याम्म बोलको गीतमार्फत जोशीले लोकतन्त्र प्राप्तिका लागि २०६२/६३ सालमा सडक तताएका थिए।
'रत्नपार्क मात्र होइन, नारायणहिटी हाम्रो झ्याम्म झ्याम्म
ज्ञानेन्द्रले सत्ता छोडे, सबैभन्दा राम्रो झ्याम्म झ्याम्म'
भन्दै उनी लोकतन्त्रका पक्षमा गीत गाउँथे। राजाविरुद्ध खुलेर सडकमा गीतमार्फत नै गाली गर्दै नाराबाजी गर्नु तत्कालीन समयमा कम चुनौतीपूर्ण र साहसिक कदम थिएन। जीवन बलिदान प्राप्त गरे देशका लागि सहिद भइन्छ भन्ने दृढ अठोट बोकेर उनी जनआन्दोलनमा होमिएका हुन्।
जनताको छोरो राज्यको सर्वोच्च निकायमा पुग्नुपर्छ र उसले नै जनताका लागि शासन हाँक्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझेका जोशी घरबाट निस्किँदा परिवारका सदस्यलाई मैले आहूति प्राप्त गरे भने नरुनु, देशका लागि सहिद बन्यो भन्ठान्नू भनेर निस्कन्थे।
लोकतन्त्रका लागि बोल्दा ३७ पटक कारावास
लोकतान्त्रिक विचार धारा भएका जोशी उसो त २०३४ सालदेखि नै राजनीतिमा सक्रिय थिए। २०३५ सालमा विद्यार्थी आन्दोलनकै क्रममा समेत उनी जेल परिसकेका थिए। त्यतिबेला पनि उनले देउडा नै गाएर सरकारको विरोध गरेका थिए। २०३९ सालमा नेपाली कांग्रेसले आयोजना गरेको सडक सफाइ अभियानमा पनि उनी देउडा नै गायर जेलभित्र परेका हुन्। २०४२ सालमा कांग्रेसले आयोजना गरेको सत्याग्रहमा पनि ११ महिना उनले नख्खु कारागारमा जेलजीवन बिताउनुपरेको थियो।
उनले आफूले पहिलेदेखि नै देउडा गाउँदै तानाशाही साशनको विरोध गर्दै आएको भए पनि २०६२/६३ सालको जनआन्दोलनपछि थप निखारिएको बताए। लोकतन्त्र प्राप्तिका लागि बोल्दा उनी ३७ पटक कारागार पुगेका छन्। बझाङ्मा वि.सं. २०१५ साउन १५ गते जन्मिएका जोशी सानैदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय व्यक्ति हुन्।
जोशी ०६२/६३ सालको जनआन्दोलनलाई यसरी सम्झिन्छन्, ‘सात पार्टी थकित भइसकेको अवस्था थियो। पार्टीका कार्यक्रममा नगन्य संख्यामा मान्छेको उपस्थिति हुन थाले। पछि पापडलगायतका संघ संस्था, मानवअधिकारकर्मी, सडक आन्दोलनका व्यक्तिहरु हामी सबै जनाले थुपै पटक कसरी आन्दोलन उचाइमा पुर्याउने भन्ने विषयमा छलफल गर्यौं। नागरिक अगुवा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठ, म, अर्जुन पराजुलीलगायत अन्य प्राध्यापकहरु जम्मा भएका थियौं।'
जोशीले अगाडि थपे, 'कृष्ण पहाडीले जसका गीतले देश हाँक्न सक्छ, जनताले रुचाउन सक्छन् त्यस्ता मान्छेलाई अघि सार्नुपर्छ र कसैको विरुद्धमा बोल्नु हु्ँदैन तर, सान्दर्भिक विषयलाई लियर बोल्नुपर्छ भन्नुभयो। त्यसपछि मैले राजाका गलत कदमविरुद्धमा सडकमा जान्छु र गीतका माध्यमबाट जनतालाई जागरुक गराउँछु भने। त्यसपछि उनी २०६२ साल चैत २६ गते बानेश्वरमा आयोजित आन्दोलनमा सहभागी भएँ र ३०३७ सालमा मैले बजारमा ल्याएको गीत झ्याम्म झ्याम्ममार्फत चेतना जागृत गर्न थालें।’
लोकतन्त्रका लागि ऊर्जाशील समय खर्चेका जोशी नेताहरु सेवामुखी बन्दा दुःखी छन्।
त्यसरी गीत गाउँदा आफूले थुप्रै व्यक्तिबाट स्याबासी पाएको र त्यसले थप ऊर्जा प्राप्त भएको जोशीले बताए। उनी त्यो समयमा विभिन्न आमसभामा जनवादी गीत गाउँदै राजतन्त्रको विरोध गर्थे। सेन्टिमेन्ट गीत गाएर हुँदैन भन्ने बुझेका उनले जनवादी गीत गाउँदै जनतामा ऊर्जा थप्ने काम गर्थे। कसैको हेपाइ सहन नसक्ने र चाकडी गर्न नजान्ने जोशी काम गर्नुपर्छ भन्ने मान्यता राख्छन्। ‘राजाले जनतालाई हेपेका छन् भन्ने मेरो बुझाइ थियो,’ उनले भने, ‘म त्यही हेपाइको विरुद्धमा उत्रिएको हो।’
अहिले देशमा त्यत्रो संघर्ष र बलिदानीबाट प्राप्त भएको लोकतन्त्र अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेकोमा उनी दुःखी छन्। त्यतिबेला उनलाई एउटा राजालाई फाल्दा थुप्रै राजा जन्मिन्छन् भन्ने डर नलागेको पनि होइन। आखिर अहिले भइदियो त्यही। जसले गर्दा उनको मन कटक्क दुख्छ। आन्दोलनका क्रममा उनले जेल मात्र बस्नु परेन, थुपै पटक ज्यान मार्ने धम्कीसमेत खेप्नुपर्यो। थुप्रैले ज्यानको आहूति दिएको, अपांगतापूर्ण जीवन बिताउनुपरेको सम्झिँदा र जनताका लागि लोकतन्त्र आएको अनुभूति नहुँदा उनी दुःखी बन्ने गरेका हुन्।
दुई तिहाइको सरकार हुँदा पनि अस्थिरता
‘राजाको ठाउँमा राष्ट्रपति आउनुभयो। देशले शक्तिशाली प्रधानमन्त्री पायो’, उनले भने, ‘अहिले त दुई तिहाइको सरकार पनि छ। अब त अस्थिरताको अन्त्य हुनुपर्ने हो नि। अहिले पनि म जताततै अस्थिरता देखिरहेको छु। जसले गर्दा सोचेअनुसारको लोकतन्त्र प्राप्त हुन सकेन।’ उनका अनुसार जनताले सोचेअनुसारको लोकतन्त्र प्राप्तिका लागि सरकारले बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्छ।
जोशीले पानी आउनुअगावै धाराको टुटी उद्घाटन गरेर सरकारमा हल्ला पिट्ने प्रवृत्ति हावी भएकै कारण पनि लोकतन्त्र संकटमा परेको आरोप लगाए। ‘नेताहरुले व्यक्ति पार्टीभन्दा पनि राष्ट्रका लागि सोच्नुपर्छ। अनिमात्र हामी समृद्धि हासिल गर्न सक्छौं’, उनले भने, ‘लोकतन्त्र बुझेका र लोकतन्त्रका लागि बलिदानी दिएका व्यक्तिलाई शासनसत्तामा ल्याउँदा राम्रो हुन्छ।’
‘२०४७ सालमा एक वर्षमा संविधान बनाई सक्नुपर्ने थियो। किसुनजीले त बनाउनुभयो, सक्नुभयो’, जोशीले भने, ‘आखिर सशक्त नेतृत्व हुँदा त सम्भव हुँदोरहेछ। त्यसैले सशक्त नेतृत्वले नै समृद्ध मुलुक बनाउन सक्छ।’ बीपी, किसुनजी जस्ता राजनेताको अभाव अहिलेको अवस्थामा खड्किएको उनलाई महसुस भएको छ।
तपाईं कलाकार सबैको साझा बन्नुपर्ने हो भन्ने प्रश्नमा जोशीले भने, ‘आफू सचेत नागरिक भएकाले र लोकतन्त्रका पक्षमा चेतन मनले आन्दोलनमा होमिएको बताए। उनले भने, ‘म लोकतन्त्रवादी मान्छे हुँ। मेरो नसा–नसामा लोकतन्त्र छ। विचारविनाको मान्छे के मान्छे ? ममा जनताका लागि केही गर्ने चेतना थियो। त्यसैले आफूभित्रको प्रतिभा सदुपयोग गर्दै त्यसकै माध्यमबाट लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएँ।’
प्रहरीले नै बचाए
मिठो स्वर भएको व्यक्ति भन्दै आन्दोलनका क्रममा थुप्रैपटक प्रहरीले नै बचाएको अनुभव जोशीसँग छ। ‘छ/सात सय व्यक्तिसहितको मेरो नेतृत्वको टोली बौद्धबाट चुच्चेपाटी हुँदै निषेधित क्षेत्र गोपीकृष्ण हललाई छेड्दै थियौं,’ उनले भने, ‘मलाई प्रहरीले हिर्कायो। मलाई बझाङकै एकजना एसएसपीले उहाँलाई नहिर्काउनुस्। उहाँ कलाकार हो भनेर रोक्नुभयो। अरुले धेरै पिटाइ खाए। तर, मलाई पक्राउ गरेर थुनामा राखे।’
२०६२ पुसमा सिन्धुलीको खम्बेचौरमा जोशीलगायतको टोली आमसभाका लागि गयो। तर त्यहाँ सेनाले कार्यक्रम गर्न दिएन। जोशीले अग्रसर भएर गीत गाए। आमसभामा हजारौंको संख्यामा जनता आएको उनलाई हिजो जस्तै लाग्छ। यस्तै बुटवलमा सेनाले घेर्दासमेत आफूहरुले कार्यक्रम गरेको उनको अनुभव छ । सेनाका केही व्यक्तिले कार्यक्रम बिथोल्नु हुँदैन भन्दा आफूलाई खुसी लागेको जोशीले बताए। यसरी सेनाले पनि लोकतन्त्र प्राप्तिका लागि सहयोगी भूमिका खेलेको जोशी बताउँछन्।
जोशीको स्मरणमा आन्दोलनका क्रममा भोगेका कठिन पलहरु ताजै छन्। टीकापुर पुग्दा जनताले डराएर बास नदिँदा खुला आकाशमुनि थुरथुर काप्दै रात बिताएको सम्झिँदा जोशीको शरीर अझै पनि चिसो हुन्छ। आन्दोलनका क्रममा प्रहरीले जोशीको घर पनि थुप्रै पटक घेरेको थियो। उनलाई थुप्रै पटक गिरफ्तार गरेको थियो।
प्रहरी घेरामा आमाबुवाको श्राद्ध
जोशीले आन्दोलनका क्रममा गिरफ्तार हुँदा दुई नम्बर गणभित्रै बिसु पर्व मनाएका थिए। जनआन्दोलनमा गिरफ्तार भएकै समयमा जोशीका बुवाआमाको श्राद्ध परेको थियो। जेलबाट निस्केर प्रहरीको माझमा श्राद्ध गरेको जोशी अहिले पनि सम्झन्छन्।
नरहरि आचार्यले जेलमै पुगेर तपाईंजस्तो नागरिक आन्दोलनको हस्तीलाई जेलभित्रै नागरिक आभिनन्दन गर्न चाहन्छु भनेर दिएको प्रेरणा सम्झिँदा जोशीलाई अहिले पनि ऊर्जा जाग्छ।
लोकतन्त्र प्राप्तिका लागि जीवनको ऊर्जाशील समय खर्चेका जोशी अहिले नेताहरु सेवामुखी बनेको देख्दा दुःखी छन्। लोकतन्त्र प्राप्तिका लागि त्याग र संघर्ष गरेका मान्छेहरु पाखा लगाइएकोमा जोशीको चित्त बुझेको छैन। राजनीति पैसाको वपिरि घुमेको र पैसावालहरु नै सत्तामा पुग्ने गरेकाले देशमा भ्रष्टाचार बढेको जोशी बताउँछन्। २०६३/६२ मा झ्याम्म–झ्याम्ममार्फत सडक तताएका जोशीलाई अब लोकतन्त्र झ्याप्प संस्थागत होस् भन्ने चाहना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४