काठमाडाैं - नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिको गोप्य भेला काठमाडौंको ठमेलस्थित चाक्सीबारीको होटल काठमाडौंको छैटौं तलामा जारी छ। बैठकमा ५० भन्दा बढी जिल्लाका असन्तुष्ट पक्षका सभापतिहरुको छलफल चलिरहेको छ।
बैठक हलमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन।
भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने तयारी असन्तुट सभापतिहरुले गरेका छन्। बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पार्टी विधानमा राखिएकोमा असन्तुष्टि जनाउँदै कांग्रेस जिल्ला सभापतिले भेला बोलाएका हुन्। उनीहरुले केन्द्रीय सदस्य पनि चुनाव लडेर जितेपछि मात्रै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा राख्न र समानुपातिक कोटा एकै व्यक्तिले पटकपटक लिन नपाउने व्यवस्था राख्न माग गरेका छन्।
यता, संस्थापन पक्षका सभापतिहरुले भने विधानविपरीतको भेलाले पार्टीलाई थप कमजोर बनाउने तर्क गरेका छन्। नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बलियो प्रतिपक्षीको भूमिका खेल्नुपर्ने समयमा आयोजना गरिने यस्ता गुटगत भेलाले पार्टीलाई कमजोर बनाउने धारणा राखे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४