काठमाडौं। नेपाली कांग्रेसको १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामथ्र्य’ विषयमा छलफल गरिएको छ।
कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या भएको भन्दै त्यसको सही बुझाइ र व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
उनले जल, जमिन र जंगललाई नेपालको सम्पत्तिका रूपमा बारम्बार चर्चा गरिए पनि देशको वास्तविक शक्ति भने जनसंख्या रहेको उल्लेख गरे।
‘हामीले जल, जमिन र जंगल नेपालको सम्पत्ति हो भनेर धेरै पटक बोलेका, दोहोर्याएका र सुनेका छौँ। तर हाम्रो मुख्य सम्पत्ति भनेको जनसंख्या हो। त्यसैले जनसंख्यालाई सही ढंगले बुझ्ने क्षमता हामीमा हुनुपर्छ,’ उनले भने।
थापाले जनसंख्यालाई केवल संख्या वा मतदाताको रूपमा मात्र हेर्न नहुने धारणा राखे। ‘हामीसँग कति जनसंख्या छ भन्ने कुरा यति करोड, यति लाख भनेर मात्र बुझ्ने होइन। चुनाव लड्नेका लागि त्यो संख्या भोटमा देखिन सक्छ, तर जनसंख्या त्यति मात्र होइन,’ उनले भने।
उनले जनसंख्याको अवस्था, वितरण, गतिविधि र भविष्यको प्रवृत्तिबारे पनि गहिरो अध्ययन आवश्यक रहेको बताए।
‘जनसंख्या कहाँ छ, के गरिरहेको छ, कस्तो अवस्थामा छ, कता गइरहेको छ भन्ने सबै कुरा बुझ्नुपर्छ। त्यति मात्र होइन, अबको केही वर्षपछि यसको अवस्था कस्तो हुन्छ भन्ने विषयमा पनि सोच्न आवश्यक छ,’ थापाले भने।