काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले बारामा निम्तिएको विपत्ति र न्यायाधीश नियुक्तिमा भएको भागबन्डाको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको कान्तिपुर दैनिक सर्वोच्च अदालतका पाँचसहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको विषयलाई प्रमुख खबर बनाएको छ । उच्च अदालतका दुई न्यायाधीश र तीन कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ । जसमा प्रकाशकुमार ढुंगाना र सुष्मलता माथेमा उच्च अदालतबाट आएका हुन भने कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा कानुन व्यवसायीबाट तानिएका हुन् ।
अधिवक्ता कुमार रेग्मी कांग्रेस निकट कानुन व्यवसायी हुन । कांग्रेसको महासमिति सदस्यसमेत रहेका उनी खुमबहादुर खड्काका नजिकका पात्र मानिन्थे । पछिल्लो समय रेग्मी नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्छ भन्ने अभियानमा सामेल थिए ।
यस्तै कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हरिप्रसाद फुयाल नेकपा निकट मानिन्छन् । उनले २०७३ सालमा केपी ओली प्रधानमन्त्री हुँदा उनको महान्यायाधीवक्ता भएर काम गरेका थिए । उनी तत्कालिन एमालेको अनुशासन समितिमा समेत सामेल थिए ।
यसपटकको सिफारिसमा सबैभन्दा विवादित मानिएका मनोजकुमार शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् । शर्मा प्रधानन्यायाधीश भएका बेला शर्मा अतिरिक्त न्यायाधीशमा सिफारिस भएका थिए । उनीको नेकपाका नेताहरु बाक्लो उठबस रहेको कान्तिपुरले लेखेको छ ।
यसै विषयलाई आजको नागरिक दैनिकले न्यायाधीश सिफारिसमा वरिष्ठ अधिवक्ताको विरोध शीर्षकमा खबर लेखेको छ ।
वरिष्ठ अधिवक्ताहरुले अदालत भन्ने नै रहेन, दलिय नियुक्तिले सबै खत्तम पार्यो भन्दै चिन्ता ब्यक्त गर्न थालेका छन् । पुनरावेदन अदालतको अतिरिक्तबाट स्थायी हुन नसकेका समेत सिफारिसमा परेको समाचारमा उल्लेख छ ।
यो विषयसँगै आजका पत्रपत्रिकाले बाराको विपत्तिलाई मुख्य समाचार बनाएका छन् ।
नयाँ पत्रिकाले विपन्नमाथि नै विपत्ति शीर्षकमा मुख्य समाचार छापेको छ भने राहतको भद्रगोल अवस्थालाई पनि उठाएको छ । उसले पीडा नियाल्न गाउँ पुग्नेको ताँती तर, मुख्यमन्त्री राहत कोषमा जम्मा पाँच लाख उपशीर्षकमा खबर छापेको छ ।
अन्नपूर्ण पोस्ट्ले दर्दनाक तीन रात पाखामा शीर्षकमा मुख्य समाचार छापेको छ । उसले सहयोगका लागि राज्यले मुख नखोलेको, सुत्केरीको बिजोग भएको विषयलाई पनि उठान गरेको छ । कान्तिपुरले महाविनाश कच्ची संरचनाले शीर्षकमा खबर लेखेको छ ।
आजका नागरिक दैनिकले भने हावाहुरी प्रभावित क्षेत्रमा भिभिआइपी, रित्तै हात आए धुलो मात्रै उडाए शीर्षकमा खबर लेखेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४